मुख्य समाचार

वायुसेवा सञ्‍चालक संघको अध्यक्ष बने क्याप्‍टेन रामेश्वर थापा

शनिबार, भदौ १४, २०७६

काठमाडौं– क्याप्टेन रामेश्वर थापा निजी वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा चयन भएका छन् । यसअघि संघको दुई कार्यकाल बिताएका थापा संघको अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् ।

संघको शुक्रबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

सिम्रिक एयरका अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा तय भएको उक्त कार्य समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छनोट भएका छन्। कार्य समिति निर्विरोध चयन भएको हो।

कार्य समिति सदस्यहरूमा समिट हेलिकप्टरका क्याप्टेन दिपक जे.वि. राणा, हेली एभरेष्टका योगराज कँडेल शर्मा, एयर डाइनेष्टी हेली सर्भिसेजका बालकृष्ण पण्डित, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, कैलाश हेलिकप्टरका वरुण ज्ञवाली, प्रभु हेलिकप्टरका सुवास अमात्य र सिम्रिक एयरलाइन्सका प्रज्वल थापा चयन भएका हुन्।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष पवित्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा वायुसेवा कम्पनीहरूका अध्यक्ष, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो।

मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानबारे चर्चा गर्दै धन्यवाद दिए। उनले निजी क्षेत्रको हवाई सेवासुविधा अझै बिस्तार हुँदै जाने बताए।

भट्टराईले निजी क्षेत्रलाई सकारात्मक रूपमा हेरिरहेका बताउँदै कुनै पनि निजी वायुसेवा धरासायी नहुने र सबै वायुसेवालाई समान व्यवहार गर्ने स्पष्ट पारे। संविधानले दिएको मौलिक हकअनुसार राज्यले दिएको सेवा सुविधाअनुसार नै जेष्ठ नागरिकको सम्मानका लागि हवाई भाडामा छुट दिने विषय उठान गरिएको उनले बताए। ‘यो विषयमा निजी वायुसेवासँग सहकार्य गरेर आपसी छलफल र एजेन्डाबाटै तय गर्न लागेका छौं’, उनले भने। देशमा अहिले ३.५ प्रतिशत जेष्ठनागरिक छन्।

नेपालमा जम्मा वार्षिक २८ लाख हवाई यात्रु हुने गरेका छन्। यो समूहमा परेका र ७० वर्ष माथिका जेष्ठनागरिकलाई दिने हवाई छुटको सुविधा दिँदा धेरै ठूलो असर नपर्ने मन्त्री भट्टराईको भनाइ छ। वायुसेवा कम्पनीले गरेकै अनुसारको निजी क्षेत्रमा कसरी पुग्ने भन्ने चिन्ता सरकारले पनि गरिरहेको उनले जानकारी दिए।

संघका अध्यक्ष क्याप्टेन थापाले मन्त्रीसँग निजी क्षेत्र बसेर यस क्षेत्रका समस्या समाधान गर्न र आवश्यक सल्लाह सुझावसहितको काम गर्न तयार रहेको बताए। नेपाली हवाई उद्योगमा चिरपरिचित उड्डयान व्यवसायी नवनियुक्त अध्यक्ष क्या. थापाले संघको उक्त साधारण सभालाई सम्बोधन गर्ने क्रममा नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए।

थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षाको स्तरलाई अझै उचाईमा पुर्‍याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने बताए।

उनी सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रूपमा क्रियाशील छन्। थापा यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६