सुनकोशी न्यूज
जेठ १९ गते, मंगलबार
काठमाडौं — सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयबारे जानकारी दिएका हुन्।
बैठकले सुरक्षा, वातावरण, प्रशासन र भूमि व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू
🔹 सशस्त्र प्रहरीमा एआईजी बढुवा
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ।
🔹 मोन्ट्रियल प्रोटोकलसम्बन्धी सम्झौता स्वीकृत
ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको छ।
🔹 अध्ययन समितिको म्याद ४५ दिन थप
२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको अध्ययन तथा सिफारिस गर्न गठित समितिको कार्यअवधि थप ४५ दिन बढाइएको छ।
🔹 भूमि समस्या समाधान आयोगमा नियुक्ति
भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्कोटा (कास्की) नियुक्त भएका छन्। साथै सदस्यहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौं), पद्मनिधि सापकोटा (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) नियुक्त गर्ने निर्णय गरिएको छ।
सरकारले सार्वजनिक गरेका यी निर्णयहरू सुरक्षा व्यवस्थापन, वातावरण संरक्षण तथा भूमि प्रशासन सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका छन्।

















Add Comment