सुनकोशी न्यूज
जेठ १९ गते, मंगलबार
काठमाडौं — तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि भइरहेको छानबिनका लागि सरकारले थप पाँच दिनको म्याद दिएको छ। छानबिन समितिले तोकिएको समयभित्र अनुसन्धान सम्पन्न गर्न नसकेपछि थप समय मागेको थियो।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिलाई मंगलबारदेखि लागू हुने गरी पाँच दिनको अतिरिक्त समय प्रदान गरिएको हो। समितिका अध्यक्ष भण्डारीका अनुसार अबको पाँच दिनभित्र छानबिन प्रक्रिया टुंग्याएर सरकारलाई प्रतिवेदन बुझाइनेछ।
समितिले यसअघि नै गुरुङसँग बयान लिइसकेको छ। साथै उनीमाथि लागेका आरोप, सम्पत्ति विवरण तथा सम्बन्धित कागजातहरूको अध्ययनसमेत गरिसकेको जनाएको छ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भिक रूपमा १५ दिनको समय दिइएको थियो, जुन सोमबार सकिएपछि थप पाँच दिन म्याद बढाइएको हो।
के छ गुरुङमाथिको आरोप ?
व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि उनीसँग गुरुङको व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएको थियो। त्यसपछि गुरुङले सम्पत्ति विवरणमा सेयर लुकाएको तथा विवादास्पद व्यवसायिक सम्बन्ध रहेको आरोप सामना गर्नुपरेको थियो।
विवाद चुलिँदै गएपछि गुरुङले ९ वैशाखमा नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले आफूविरुद्ध उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्यागेको बताएका थिए।
सरकारले गुरुङको राजीनामापछि छानबिन समिति गठन गरेको हो। छानबिन प्रतिवेदन सार्वजनिक भएपछि उनीमाथिका आरोपको वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा समितिले निर्दोष ठहर गरेमा गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा समेत भइरहेको छ।

















Add Comment