सुनकोशी न्यूज
मंसिर ११ गते, शुक्रबार ।
काठमाडौं। वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेसले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दीर्घकालीन पुनर्वासको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म उनीहरूलाई अनिश्चिततामा राखेको जनाएको छ।
अहिले अस्थायी रूपमा बस्दै आएका होल्डिङ सेन्टरबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ। राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय दिनुपर्नेमा उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्न नहुने कांग्रेसले जनाएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने पार्टीको भनाइ छ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।
त्यस्तै, कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा राखेको छ।

















Add Comment