समाचार • हेडलाईन न्युज

बालेन–मोदी भेट : विशेष उपहार आदानप्रदानदेखि महत्त्वपूर्ण सहमतिसम्म

सुनकोशी न्यूज
मंसिर ७ गते, सोमबार

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको विशेष उपहार दिएका छन्।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टामा राखिएको रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन मोदीलाई उपहार दिएका हुन्।प्रधानमन्त्री शाहको सचिवालय स्रोतका अनुसार उक्त उपहार व्यक्तिगत रूपमा प्रदान गरिएको हो। यस्तै, नेपाली दूतावासका तर्फबाट मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको थियो।

उपहार आदानप्रदानका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन्।यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न महत्त्वपूर्ण सहमति तथा परियोजनाहरू अघि बढाउने विषय पनि सार्वजनिक भएको छ।

प्राप्त विवरणअनुसार भारतले नेपाललाई गुजरातको कान्दला र ओडिसाको पारादीप बन्दरगाह प्रयोगको सुविधा उपलब्ध गराउने भएको छ। साथै नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन गर्ने तथा विभिन्न पूर्वाधार परियोजनामा सहकार्य गर्ने विषयलाई प्रमुख उपलब्धिका रूपमा राखिएको छ।

त्यस्तै, चितवनमा एग्रो इन्डस्ट्रियल पार्क निर्माण, दार्चुला–धार्चुला मोटरेबल पुल, झापामा पेट्रोलियम टर्मिनल र सिलिगुडी–झापा ग्यास पाइपलाइनलगायतका परियोजनामा सहकार्य अघि बढाउने उल्लेख छ।

प्रकाशित मिति: सोमवार, मंसिर ८, २०८३

 

 

ताजा अपडेट