सुनकोशी न्यूज
मंसिर ४ गते, शुक्रबार
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको बैठकका निर्णय सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन्।
बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ। साथै भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले उपलब्ध गराउने २ मिलियन अमेरिकी डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।
सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि गरेको छ।यसैगरी राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्का सात मुख्य निर्णय :
१. प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत तथा प्रतिनिधिमण्डल गठन।
२. भोटेकोशी बाढी प्रभावितका लागि चीनको २ मिलियन डलर अनुदान स्वीकार।
३. आईएमएफको करिब १०७ मिलियन डलर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार।
४. सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने।
५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत।
६. ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत।
७. राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत।















Add Comment