बिदुर खड्का
यदाकदा घटनाहरुले अनावश्यक राजनीतिक रंग ग्रहण गर्दा सत्यको मृत्यु हुने गरेको छ । जसरी पानी जीवनको आधार भएर पनि कहिलेकाँही मृत्युको कारण बनिदिन्छ ।
निर्मला हत्याकाण्डमा निर्मलाले न्याय पाउन सकिनन् । उनको परिवारले न्याय पाउन सकेनन् । त्यसमा संलग्न भनिएका मानिसहरुको अपराध प्रमाणित हुन सकिरहेको छैन । सिंगो प्रहरी र सरकार नै यसमा असफल हुने देखिएको छ । यस्ता दर्जनौं घटना अहिले पनि अदालतमा उनुत्तरित अवस्थामा रहेका छन् । तामेलीमा रहेका छन् ।
समकालिन पत्रकारिताको मान्यताभन्दा फरक धारमा रहेर न्युज २४ टिभीमा पत्रकारिता गरिरहेका रवि लामिछानेले धेरै भ्रष्टाचार र अनियमितताका फेहरिष्तको पर्दाफास गरे । जनतालाई सुसुचित गरे । कारवाहीमा सहयोग गरे । यो उनको सकारात्मक पाटो हो । तर यसबाट प्राप्त जनसमर्थनलाई उनले दुरुपयोग गर्दै आफ्नो निजि जिवनको बदमासीलाई ढाकछोप गर्न प्रयोग गरे । बलात्कार काण्डको स्ट्रिङ अप्रेसन गर्न जाँदा आरोपितलाई झापड हान्ने उनी स्वयम् परिवारमा महिला हिंसा गर्ने पुरुषको रुपमा पर्दाफास भयो । पछिल्लो समय उनले आफ्नो कामलाई मानिसहरुसँग ब्ल्याकमेलिङ गर्ने र असुली गर्ने हतियारको रुपमा प्रयोग गरिरहेको गुनासो आउन थाल्यो ।
नाम र दाम दुबै कमाउने भएपछि रवि जस्तै पत्रकारिता गर्नेहरुको अकर्षण बढ्यो । पछिल्लो समय आफ्नो सबै कामभन्दा छाडेर रविकै पछि लागेका शालिकराम पुडाशैनीले उनको त्यही शैली र स्वभावको सिकार हुनुप¥यो । पुडाशैनीको मृत्युहुनु अघि उनले आफू मर्नुको कारण रवि भएको बताइएको रेकर्डिङका कारण उनी अहिले प्रहरी हिरासतमा छन् ।
प्रमाणका आधारमा प्रहरी अनुसन्धान गर्ने कुरा स्वभाविक हो । दोषि सावित भए कारवाही हुन्छ, नभए ससम्मान रिहाई । तर आरोप लागेदेखि नै एउटा पक्ष त्यसको विरुद्ध सडकमा नाराजुलुस गर्ने, बन्द हड्ताल गर्ने र अर्को पक्ष कारबाही गर्नैपर्छ भनेर नाराजुलुस गर्ने संस्कारको विकास भैरहेको छ । न्याप्रकृयालाई प्रभावित पर्न उद्यत यस्ता दुबै घटनाले घटनाको सत्यतथ्यलाई ओझेलमा पार्ने गरेका छन् ।
जसरी निर्मला हत्याकाण्डको दोषि को भन्ने कुरालाई रहस्यमयी बनाएर हत्यारा बचाउने काम गरियो, त्यसैगरी पुडाशैनी हत्याप्रकरणमा पनि आरोपित रविलगायतको पक्ष र विपक्षमा राप्रपा, कांग्रेस र बाबुराम भट्टराईको पार्टी समाजवादी पार्टीका नेताहरुनै सामाजिक संजाल र सडकमा नाराजुलुस गर्न कुद्नुले वास्तविक हत्यारा र हत्याको कारण्सम्म अनुसन्धानकर्मीलाई पुग्नै नदिने झेल देखिन्छ । राज्यका जिम्मेवार र सचेत राजनीतिक व्यक्तित्वहरु नै यसरी घटनालाई उछाल्न वा दबाउन दलीय स्वार्थको आधारमा लाग्नुले नेपालमा न्याय मर्दै जाने त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ ।
रवि दोषि हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर उनीसँगग कसकसको केके दुस्मनी र इगो छ भन्ने कुराले यो घटना प्रभावित हुने, उनी दोषि प्रमाणित हुने वा नहुने कुरा जोडिनु हुदैन । त्यसैगरी समर्थकहरुले पनि रवि भनेको कहिल्यै गल्ती नै नगर्ने मान्छे हो भनेझैं जसरी पनि उसलाई निसर्त रिहाई गर्नु पर्छ भनेर सडकमा नारा लगाउनुले न्याय बाँच्दैन । यसरी पनि न्यायको हत्या नै हुन्छ ।
त्यसैले विरोध र समर्थनको भूमरीमा सत्य मर्ने, न्याय मर्ने र पीडितले न्याय नपाउने खाले परिस्थितिको मतियार कोही पनि बन्नु हुदैन । यो सबैको लागि दुर्भाग्यपूणृ हुने छ ।
राज्य र प्रहरी पनि अनुसन्धानमा यदाकदा अनुसन्धान गर्ने केही व्यक्ति प्रभावित र पूर्वाग्रही हुने गरेका छन् । तर राज्यले सधैं त्यसै गर्छ, सत्यको पक्षमा कामै गर्दैन भन्ने कुरा सत्य होइन । इमानदारहरुको समुच्च प्रयासले नै राज्य सफल हुने हो ।
त्यसैले घटनालाई र अनुसन्धानलाई राजनीतिक ढंगले पक्षमा वा विपक्षमा हुनेगरी प्रभावित पार्न खोज्नु पनि सामाजिक अपराध हो । यो अपराधको कोही पनि मतियार बन्नुहुदैन ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
Add Comment