सुनकोसी न्युज
असाेज १३ गते साेमबार, २०८२
बिदुर खड्का
कुनै धातु(metal ) काे सामान कामनलाग्ने भएपछि त्यसलाई पगालेर नयाँ सामान बनाइएझैं भ्रष्टाचार र निकम्मा राजनीतिक खेलकुदका कारण भुत्ते भएको समाज र राजनीति किशोर पुस्ताको आन्दोलन, बलिदान र भाैतिक क्षतिको रापतापले पग्लिएर तरल अवस्थामा पुगेको छ। अबको प्रमुख कार्यभार त्यो तरलताबाट समाजका खिया र फाेहाेर हटाएर नयाँ स्पातिलाे उपयोगी समाज निर्माण गर्नु हुनेछ । यो समयको तरलतासँगै बगेर समाप्त हाेइन्छकी भनेर चिन्ता गर्नुभन्दा यसका लागि सबै पुस्ताका इमानदार मान्छेहरूको सक्रिय रचनात्मक भूमिकाबाट यो युवा रगत र भाैतिक बिध्वंशकाे तरल उर्जा सशक्त सबल सामाजिक रूपान्तरणको कार्यभार पूरा गर्ने ऐतिहासिक जाेखिम उठाउनु यो बेलाको आवाज अपरिहार्य दायित्व हुनेछ। यो समय परिवर्तनको लागि हुने आन्दोलनको उच्छिताे काड्दै यसलाई विभिन्न दृश्य अदृश्य शक्तिकेन्द्र र देशीविदेशी षड्यन्त्रको प्रतिफल मात्रै करार गरेर यसका सकारात्मक उपलब्धिलाई धुलिसात पार्ने दुस्साहस गर्नुभनेकाे अर्को राजनीतिक सामाजिक अपराध हाे, भ्रष्ट आचरण हाे। कुनै पनि वस्तुुको विकास, विनास अर्थात परिवर्तनको प्रधान कारक साेही वस्तुभित्र निरन्तर विकास हुने अन्तरविरोध हाे। नेपाली समाजमा व्यवस्थाबिरूद्ध नयाँ पुस्तामा आक्राेश एकाएक उत्पन्न भएको हाेइन। यो एउटा निरन्तरतामा विकास भएर वस्तुगत आवश्यकतामा जाेडिएर ज्यामितिय गतिमा बढेको माओवादी अध्यक्ष लगायत केही सचेत नेताहरू र विश्लेषकहरूले बंगलादेशको उदाहरण दिदै बताइरहेकै थिए । ओली सरकारको बेढंगे हठ र निकम्मापन त्यसको द्वार बन्यो । बिस्फाेटकाे लागि त्यो कमजोर ढाेका बन्याे ।
सामाजिक संजालबिना लगभग सबै पुस्ता एकपलकाे समय कल्पना गर्नसक्दैन। सामाजिक संजालमा लागेको प्रतिबन्धले zoomer पुस्तालाई मात्रै नभएर गृहेणी र व्यवसायीलाई समेत आक्राेशित बनाएको थियोे । यो सबै गर्ने नेता हुन् भन्ने भाष्य स्थापित छदैथियाे। त्यसमा प्रतिगमनकारीले तीन ठूला दल, यो संविधान र संघीय गणतन्त्र भ्रष्टाचारको कारण भनेर थपिदिए। चलखेल गर्ने स्थान र अवसर पाए ।
राजनीतिमा सकेभ्याएसम्म कसले चलखेल गर्दैन ?? कुन देशले कुटनैतिक फाइदा लिन खाेज्दैन ?? चतुर राजनीतिज्ञले छालबाट डुंगा बचाएझैं यो परिस्थितिबाट देश बचाउनुपर्दैन ?? देशीविदेशी प्रतिक्रियावादी र आदिइत्यालिमाथि दाेष थाेपरेर नेतृत्वको असक्षमता ढाकिदैन, अपुग परिपुर्ति हुदैन । नेताहरू, कर्मचारीहरू, सुरक्षाकर्मीका हाकिमहरू र तिनका आफन्तको जीवनशैली रवाफिलाे, भड्किलो र अस्वभाविक महङ्गो देखिनेगरि देखिएपछि, त्यसको आर्थिक स्रोत पारदर्शिता नदेखाएपछि, जनताले संघीय गणतन्त्रबाट गरेका आधारभूत अपेक्षाबाट वञ्चित हुनुपरेपछि के जनता भेडाले झैं भ्याभ्या गर्दै लुरुलुरु हिड्छन् ?? यस्तो अपेक्षा गर्ने !! यो अपेक्षा विज्ञानसम्मत थिएन ।
जाेसुकैले इनिसियशन लिएको हाेस, मेरा भाइ-छाेराकाे जेनेरेशनले सुझबुझपूर्ण राजनीतिक वैचारिक परिपक्वता बिनानै राजनीतिक बिद्रोहमा हाेमिने ऐतिहासिक साहस गरेको छ। यो पुस्तालाई राजनीतिक विचार र सिद्धान्तको आधारभूत ज्ञान समेत थिएन, गतिलो संगठन थिएन तर सामाजिक आवश्यकताले राजनीतिमा लतारेर सडकमा रगत बगाउन उद्वेलित बनायो । यो संसारको राजनीतिक परिदृष्यमा विरलै हुने परिघटनामध्य एक हाे। जसमा परिणामको कुनै पर्वाह नगरी एकैस्वासमा निमेशभरमै सत्तापलट गर्ने उर्जा सिर्जना गर्ने अदम्य साहससाथ राज्यका शक्तिशाली गाेलाबारुद अगाडि रगत बगाउन तयार भए । यसले पैदा गरेको राजनीतिक सामाजिक उर्जा सामान्य मस्तिष्कले आंकलन गर्नसक्दैन। यसलाई कसैको निहित स्वार्थ र इसारामा भएको भनेर अपमान गर्नु ठूलो अपराध हाे। राजनीतिक सामाजिक परिवर्तनका मालेमावादी वा अन्य विभिन्न आयमहरू हेरिएको, पढिएकाे छ, अलिअलि भाेगिएकाे पनि छ। ती शास्त्रीय अवधारणाअनुसार यो असंगठित वा कमजोर लुज फाेरमका माध्यमबाट उठेको आन्दोलनको बैठान त्यति सुखद हुनसकेनहाेला। त्यसैकारण केही पुराना विरासत बाेकेका दलहरूले यसलाई समेट्नेभन्दा पनि प्रतिशाेध साँध्नेपट्टी केन्द्रित भएको देखिन्छ । माओवादी स्वयंम् यस्तो शहरी बिद्रोहकाे परिकल्पनाकार हुँदाहुँदै पनि यसको स्वामित्व ग्रहणमा पटकपटक हिचकिचाइरहेकाे छ। जनयुद्बबाट शान्तिपूर्ण अवतरण हुदैगर्दा राखेका दुई महत्त्वपूर्ण मुद्दा यो आन्दोलनको मुख्य एजेन्डाका रुपमा थियोे तर नेतृत्वबिहिन असंगठित आन्दोलनकारीले माओवादीका नेताहरूको घरमा आगाे लगाइदिएकाे प्रतिशाेध अलि बढी छचल्कियाे। राजाले चलखेल गर्नखाेजे। रगतलाई श्रीपेच विनिमयकाे साधन बनाउनखाेजे। प्रमुख दलका नेताहरूको घर जलाइए। सार्वजनिक सम्पत्तिमा आगाे लाग्याे। त्यसैलाई प्रमुख घटना मान्दै सिंङ्गाे बिद्रोहकाे मर्मलाई अवमूल्यन गर्नतिर अग्रसर भएको हाे कि भन्ने आशंका जनतामा उत्पन्न भयो । जनतालाई लागेको छ, यो आन्दोलनको स्वामित्व लिएर यसका राजनीतिक उपलब्धिलाई संविधानमा नयाँ प्रगतिशील उपलब्धिको रूपमा लिपिबद्ध गर्नसक्ने ल्याकत माओवादीले मात्रै राख्छ। तर, माओवादी पनि स्यालकाे झुण्डमा मिसिएर हाउहाउ कराउन हतार गर्छ, आफ्नो वजुदकाे कारणै बिर्सिन्छ, आफ्नो स्वभाव र जिन चरित्रै बिर्सन्छ, यो बिडम्बनापूर्ण छ।
आफैंले सचेत पहल लिन नसकेको अवस्थामा समाज रूपान्तरणको लागि हुने जुनसुकै क्रान्ति र बिद्रोह माैजुदा समाजभन्दा एककदम मात्रै भए पनि अग्रगामी र प्रगतिशील छ भने त्यसको सराहनीय गर्नु क्रान्तिकारी शक्तिको दायित्व हाे। यस्ता बिद्रोहबाट प्राप्त उर्जाकाे दुरुपयोग हुन नदिने र त्यो उर्जालाई अग्रगामी रूपान्तरणमा सदुपयोग गर्ने कला कमसेकम माओवादी क्रान्तिकारीसँग हुनुपर्छ । यथास्थितिबाट पछाडि पाे जान नदिने हाे ।
माओवादी अध्यक्ष प्रचण्डले व्यवस्था रक्षाका लागि आन्दोलनको व्यवस्थापनको समय दुई दिन खेलेको भूमिका प्रशंसनीय छ। राष्ट्रपतिकाे अडानले संविधान जाेगिएकाे देखिन्छ । अब आन्दोलनको यो उर्जालाई सामाजिक परिवर्तनको आवश्यकताअनुसार संविधानमा कसरी लिपिवद्ध गर्ने भनेर सक्रिय हुनुपर्ने दायित्व पनि उनीहरूकै हाे।
भाैतिक क्षतिभन्दा कयौं गुणा शक्तिशाली छ बलिदानकाे त्यो उर्जा र यो तरलता जसको जगमा नेपाली समाज रूपान्तरणको अर्को एक फड्काेमार्न सक्छ। इतिहासले दिएको यो अवसरलाई कसले कसरी सदुपयोग गर्नसक्छ, राजनीतिक भविष्य उसैको उज्यालो हुनेछ ।
युवा विद्रोहको बलिदान : समाज रूपान्तरणकाे उर्जा

Add Comment