अर्थ/विजनेस समाचार स्थानीय हेडलाईन न्युज

आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित हरिहरपुरगढी गाउँपालिकाकाे बजेट सार्वजनिक

सुनकोसी न्युज
असार ९ गते मंगलबार, २०८२
हरिहरपुरगढी, सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाले आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सोमबार गाउँपालिकाको २१औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । 

गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकाबाट प्रदान हुने सेवा सुविधामा सुधार गर्दै जनअपेक्षाअनुरुप कार्यक्रमहरू सञ्चालन गरी ‘समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा–कृषि–वन–पर्यटन र पूर्वाधार’ भन्ने नारालाई साकार बनाउने उहाँले घोषणा गर्नुभयो । ‘संघ र प्रदेश सरकारको नीति कार्यक्रम, आवधिक योजना, प्रतिनिधि तथा सरोकारवालाहरुको सुझावसमेतका आधारमा सवल, आत्मनिर्भर, आर्थिक विकास र वातावरणमैत्री गाउँपालिका बनाउने अठोट व्यक्त गर्न चाहन्छु,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले भन्नुभयो ।

हरेक वडा र बस्तीहरुमा निर्माणधीन अवस्थामा रहेका सडकहरुको निर्माण र स्तरोन्नति गरी वर्षैभरि यातायात सञ्चालनयोग्य बनाउने, आफ्नै जनशक्ति परिचालन गरी वर्षैभरि सडक मर्मत र सम्भारको काम गर्ने, दीर्घकालीन प्रभाव पार्ने विद्यालय भवन, स्वास्थ्य संस्थालगायत ठूला आयोजनाहरुको पहिचान गरी कार्यान्वयनका लागि पहल गर्ने, गाउँपालिकाका विभिन्न बस्तीहरुमा आवातजावतका लागि सहज बनाउन झोलुंगे पुल निर्माणका लागि समन्वय गर्नेलगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाबाट निर्माण सुरु गरिएका अयोजनाहरुको औचित्यतता र आवश्यकताका आधारमा प्राथमिकता दिई कार्यान्वयन गरिने अध्यक्ष वाइबाले बताउनुभयो । ‘व्यवस्थित सहरीकरणका लागि नगर विकास कोषसँगको साझेदारीमा एकीकृत जग्गा विकासको कार्य अगाडि बढाउन प्राविधिक सम्भाव्यता अध्ययन गरिने छ,’ उहाँले भन्नुभयो ।

दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन पालिका परिसर र अन्य आवश्यक स्थानमा टेलिकमको टावर निर्माण गर्न नेपाल टेलिकमसँग समन्वय गर्ने, गाउँपालिकाभित्र खरको छाना हटाउने र सुरक्षित नागरिक आवास निर्माण गर्ने कार्यलाई संघ र प्रदेश सरकारसँग सहकार्य गरी निरन्तरता दिइने, सहिद परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बिमा र जीविकोपार्जनका लागि सीप तथा सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएका छन् ।

योजना समेटिएको अध्यक्ष वाइबाले जानकारी दिनुभयो । सामुदायिक विद्यालय सुधारका लागि समुदायलाई नै जिम्मेवार बनाउने योजना पनि अघि सारिएको छ । यसका लागि ‘सामुदायिक विद्यालय समुदायले नै सुधारौं’ भन्ने अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्न स्वास्थ्य केन्द्रमा आई सुत्केरी हुने महिलाहरुको लागि थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने योजना पनि समेटिएको छ । गर्भवती महिला र विद्यालयबाहिर रहेका किशोरीहरुको खाद्य सुरक्षा र पोषणको अवस्थामा सुधार ल्याउन पोषण तथा आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, १५ शैय्याको अस्पताल भवनिनर्माणको काम आगामी आ.व. २०८२/८३ मा सम्पन्न गराउन समन्वय गर्ने उल्लेख गरिएको छ ।

हरिहरपुरगढी किल्ला, जितपुरगढी, कुण्डपोखरी, लोहासुर पोखरीलगायतको संरक्षण गरी पर्यटकीयस्थलको रुपमा विकास गर्न संघीय सरकारसँग आवश्यक समन्वय गर्ने पनि अध्यक्ष वाइबाले बताउनुभयो ।

उहाँले पालिका विकासको गतिमा अगाडि बढेको बताउनुभयो । ‘आवश्यकताहरु असीमित छन् तर परिपूर्तिका साधन सीमित छ । असीमित आवश्यकताको बीच नीति तथा योजना तयार गर्नुमात्र महत्त्वपूर्ण होइन, लक्षित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, अनुगमन एवं मूल्यांकनको पाटो अझ महत्त्वपूर्ण हुन्छ,’ अध्यक्ष वाइबाले भन्नुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रमले पूर्वाधार सुधार, उत्पादन र उत्पादकत्वमा वृद्धि गरी रोजगारीका अवसरहरु सिर्जना, सामाजिक न्यायसहितको आर्थिक समृद्धि प्राप्तिको दिशामा महत्त्वपूर्ण प्रस्थानबिन्दुको रुपमा कार्य प्रारम्भ हुने विश्वास अध्यक्ष वाइबाले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: मङ्लबार, असार १०, २०८२

 

 

ताजा अपडेट