सुनकोशी न्यूज
मंसिर २ गते, बुधबार
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको न्यून मागका कारण वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप १५.३ प्रतिशतले घटेको हो ।
निरन्तर रेमिट्यान्स आप्रवाहमा सुधार हुनु र कर्जा माग अपेक्षाकृत न्यून रहनुले वित्तीय प्रणालीमा तरलता बढेको छ । पर्याप्त तरलता भएपछि बैंकहरूले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउनुपर्ने दबाब कम भएको छ । बचत र मुद्दती निक्षेपको ब्याजदरमा खासै अन्तर नरहेपछि निक्षेपकर्ताले मुद्दतीमा रहेको रकम बचत खातामा सार्न थालेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा वर्षमा वाणिज्य बैंकहरूको चल्ती निक्षेप २९.९ प्रतिशत र बचत निक्षेप ४५.६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा चल्ती र बचत निक्षेप क्रमशः ३८.९ प्रतिशत र ३६.५ प्रतिशतले बढेका थिए । त्यस्तै, अघिल्लो वर्ष मुद्दती निक्षेप २ प्रतिशतले घटेको थियो ।
यस अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १४.६ प्रतिशतले बढेर ७४ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुल निक्षेप १३.७ प्रतिशतले बढेको थियो ।तर, बैंकहरूको कर्जा तथा लगानी भने ४.२ प्रतिशतले मात्रै बढेर ६५ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ७.२ प्रतिशत थियो । निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेर ५२ खर्ब ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निजी क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशतले बढेर ९२ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।त्यस्तै, बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी ९.२ प्रतिशतले घटेर ९ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो लगानी बढेको थियो ।समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कुल तरल सम्पत्ति १८ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यो कुल निक्षेपको २४.०६ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो अनुपात २६.७ प्रतिशत थियो ।
तरल सम्पत्तिअन्तर्गत विदेशी बैंकमा रहेको मौज्दात ६२.३ प्रतिशतले बढेर ४ खर्ब २० अर्ब २१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकमा रहेको बैंकहरूको मौज्दात भने १.३ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकको तथ्यांकले बैंकहरूमा निक्षेप बढे पनि कर्जा विस्तार सुस्त रहेको र निक्षेपको संरचनामा मुद्दतीबाट बचत तथा चल्ती खातातर्फ परिवर्तन भइरहेको देखाएको छ ।
















Add Comment