विदेश समाचार हेडलाईन न्युज

अहमदावाद विमान दुर्घटनामा घाइते एककाे जिवितै उद्धार

जेठ २९ गते बिहीबार, २०८२
काठमाडौं / भारतको अहमदाबादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएकाे जनाइएको छ।
संयुक्त अधिराज्य बस्ने ४० वर्षीय रमेश कुमार विश्वासलाई जिवितै उद्धार गर्न सफल भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

रमेशकाे छाती, आँखा र खुट्टामा चोट लागेको बताइएको छ। उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

भारत बसाइका क्रममा दाजु अजयसँग भारतका विभिन्न स्थानमा घुमघामपछि एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी संयुक्त अधिराज्य फर्किदै थिए। उनी आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको गुनासो गरेका छन् ।

विमान उडेको ३० सेकेन्डमै पड्किएको जस्तो आवाज आएको रमेशले अधिकारीलाई बताएका छन् । ‘विमान उडेको झण्डै ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि दुर्घटना भयो,’ उनले भनेका छन्। सबै कुरा यति छिटो भयो केही सोच्नै नसकेको उनको भनाइ छ।

दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लाशहरू देखेको उनले बताए। ‘जब म होसमा आएँ, मेरो वरिपरि लाशहरू थिए। म डराएँ। उठेर दौडिएँ। चारैतिर विमानका टुक्रा-टुक्रा फैलिएका थिए। कसैले मलाई समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए,’ उनले भने।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०८२

 

 

ताजा अपडेट