सम्पादकीय हेडलाईन न्युज

आफ्नै समाचार : sunkoshinews.comको दर्ता प्रकृया सकियो

सुनकोशी न्यूज, २०७६ असोज १०
काठमाण्डौं । दर्ताको सम्पूर्ण प्रकृया पूरा गरेर हामी पूर्ण आधिकारिक संञ्चार माध्यमको रुपमा संचालनमा आएका छौं । हामीले सुनकोशी न्यूज डटकम डोमिन न्युज पोर्टलको रुपमा संचालनमा ल्याएका हौं । मरिन सुनकोशी न्यूज प्रा.लि.द्वारा संचालनमा ल्याइएको यो अनलाइनका संचालक तथा सम्पादक बिदुर खड्का हुन् ।
तिब्बतबाट गौरिशंकर हिमाल हुदै बगेर आउने सुनकोशी नदी दोलखा, रामेछाप, काभ्रे, सिन्धुली, खोटाङ, उदयपुर छुदै सप्तरी जिल्लामा सप्तकोशी नदीमा गएर मिसिने हिम नदी हो, सुनकोशी । बीच बीचमा यसमा भोटेकोशी, तामाकोशी, लिखु, रोशी लगायतका नदीहरु मिसिएका छन् ।
प्राकृतिक रुपले असाध्यै मनोरम र महत्वपूर्ण पर्यावरणीय विशेषता बोकेको यस नदीलाई सिन्धुलीको खुर्कोटबाट डाइभर्सन बनाई मरिणखोलामा लगेर मिसाउने सरकारको राष्ट्रिय गौरवको योजनाको रुपमा कार्यक्रम जारी छ । जसबाट तराईका दुई लाख हेक्टर जमिन सिचाई गर्ने लक्ष्य राखिएको छ । सिन्धुलीको कुसुमटारमा यसबाट २८ मेगावाट विजुली पनि निकानिे छ ।
यसरी देशको एउटा असाध्यै महत्व बोकेको नदी भएका कारण यसको नामबाट अनलाइन न्युज पोर्टल संचालन गर्न पाउँदा हामीले गौरव अनुभूति गरेका छौं । सुनकोशीको प्रवाह जस्तै गरी समाचार प्रवाह गर्ने हाम्रो कोसिस हुनेछ ।
अनलाईन संचालनका लागि पूर्वाधार तयार पार्ने कुरा असाध्यै चुनौतिपूर्ण हुने रहेछ । कम्पनीमा दर्ता, वडा कार्यालयमा दर्ता, कर कार्यालयमा दर्ता, गुगलमा डोमेन दर्ता, वेभपेज डिजाइन, सूचना तथा प्रसारण विभागमा दर्ता, प्रेस काउन्सीलमा दर्ता लगायतका प्रकृया पार गर्न र सानासाना प्रकृयागत काममा सरकारी कर्मचारीले दिने दुःख व्यहोर्दा दर्तापूर्व शुभचिन्तक मित्रहरुले दिएको सुझाव र प्रतिकृया झलझली याद दिलाउने रहेछ । साथीहरु भन्थे, ‘बेकारको झण्झट र दुःख किन केसाएको ? बरु कुनै ठूला मिडियामा काम गरे हेण्डसम पैसा पाईहालिन्छ । तपाई जस्तो सोझो मान्छेले यस्तो अनलाईनको लफडामा लाग्ने होइन, दुःख पाउनुहुन्छ ।’ साच्चै दर्ताको काम सिध्याउदासम्म त्यो महसुस हुने रहेछ ।
दर्ता गरेपछि सूचना विभागको परिचयपत्र बनाउने रहर सबैलाई हुन्छ । मलाई पनि भयो । सोध्न गएको त पे रोल किन नभरेको भनेर सोधियो । मैले भनें, भरखर दर्ता गरेको, तलबै कसैलाई दिएको छैन, के पेरोल भर्ने ? भनेको त चार–पाँच दिनको भए पनि भरेर आउनुपर्छ भन्छन् । यस्तो पनि कुनै नियम हुन्छ ? बेकारको दुःख दिने नियतभन्दा अरु केही केही होइन भन्दै अब अर्को वर्ष नै प्रेस पास बनाउने भनेर निश्किएँ ।
यस्तै लफडा अर्कोतिर पनि रहेछ । जुन जुन कागजात सँगै रहेको सूचना विभागमा बुझाइयो, ति सबै कागजात प्रेस काउन्सीलमा पनि बुझाउनु पर्ने नियम रहेछ । गजबको कुरा त के रहेछ भने सूचना विभागको प्रमाणपत्र नभै प्रेस काउन्सीलले सूचीकरण दर्ता नगर्ने र प्रेस काउन्सीलको सूचीकरणको चिठी नभै सूचना विभागले दर्ता प्रमाणपत्र नदिने रहेछ । यसलाई मिलाउन विभागले प्रमाण्पत्र बनेपनि दर्तावालालाई मोबाइलमा फोटो खिचाएर प्रेस काउन्सीलमा पठाउने रहेछ । त्यसलाई प्रिन्ट गरेर काउन्सीलले काम गर्ने रहेछ । यो के नाटक हो ?
के के सरकारको एउटा जिम्मेवार निकायप्रति अर्को जिम्मेवार निकायको विश्वास नभएर यसो गरिएको हो त ? जब कि यी दुबै निकाय एउटै मन्त्रालय माताहतमा पर्दछन् । यस्तो बकमफुसे नियम बनाउने र बनाउन सल्लाह दिने क्यक्ति वा निकाय कति निकम्मा छन् भन्ने यसले छर्लङ्ग पारेको छ ।
पत्रकारहरुले समाचार लेखेर दिक्क लगाएका कार्मचारी सूचना विभागमा सरुवा भएपछि पत्रकारलाई ठिक पार्न प्रतिशोध लिनको लागि यस्तो नियम बनाइएको पत्रकारहरुको गुनासो छ ।
जे भए पनि दर्ताको काम सकिएको छ । अब यसलाई कार्यालय, जनशक्ति, भोतिक सामाग्री लगायतको व्यवस्थापनबाट प्राण भर्नुपर्ने चुनौति बाँकी नै छ । सबै साथीभाई, विज्ञापनदाता, शुभचिन्तक तथा सहयोगी मित्रहरुको सहयोग र सद्भावले त्यो कार्य पनि सम्पन्न हुने विश्वास लिएका छौं ।
यहाँसम्म ल्याइपु¥याउन विभिन्न ढंगले सहयोग गर्नुहुने सबै मान्यज्यू तथा प्रिय मित्रहरुप्रति हार्दिक किर्तज्ञता ब्यक्त गर्दछु । खासगरी सिन्धूली निवासी मेरा आदर्णिय दाई श्रीवत्स काफ्ले प्रति विशेष आभारी छु । उहाँले मेरो एकै शब्दमा मेरो कार्यप्रति सहमति जनाउदै मलाई सहयोग गर्ने प्रतिवद्धता मात्रै जनाउनु भएन, बोलाएर सकेको सहयोग नै गर्नुभयो । त्यसैगरी नेकपा काठमाण्डौंका सदस्य बौद्ध निवासी मेरा मित्र निरज लामाप्रति पनि उहाँले गर्नुभएको सहयोगका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । नेकपा सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष तथा समाजसेवी अशोकराज गिरिले पनि महत्वपूर्ण सहयोग गर्नु भएको छ । उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । नेकपा रामेछापका सचिवालय सदस्य तथा युवा व्यवसायी राम तामाङलाई नसम्झी रहन सकिन्न । किनकी उहाँको पनि विविधखाले सहयोग रहेको छ । सुरु गर्नको लागि उत्साहित गर्नुहुने दाई योगेन्द्र प्रताप शाही पनि धन्यवादको पात्र हुनुहुन्छ । त्यसैगरी डिजाइरमा सहयोग गर्ने अरुण कुमार मुनिकर, कम्पनी दर्तामा सहयोग गर्नुहुने वकिल उमेश कटुवाल, पत्रकारहरु बिदुर ढुंगेल, केदार गौतमलाई पनि धन्यवाद छ ।
आगामि दिनहरुमा यो भन्दा अझ धेरै र ठूला सहयोगहरुको आवश्यक पर्नेछ । सहयोगी हातहरुको निरन्तर सहयोगको कामना गर्दछौं । समाचार, लेख, विचार, कथा, कविता, अन्तरवार्ता तथा सबै खाले सूचनामूलक तथा ज्ञानमूलक सामाग्री र व्यवसाय प्रवर्धन गर्ने खाले विविध विज्ञापन पठाएर हामीलाई सहयोग गर्नुहुन सबैमा अनुरोध छं । हाम्रो कोसिसले पाठकको जिज्ञासा मेटाउन सकोस् भन्ने कामना छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १०, २०७६