हेडलाईन न्युज

सिन्धुलीगढीमा राष्ट्रियस्तरको युद्ध संग्राहलय बन्ने, रक्षामन्त्री पोखरेलले गरे सम्झौतामा हस्ताक्षर

सुनकोशी न्युज, २०७६ असोज ८ गते ९ः३० राती
काठमाण्डौं । सिन्धुलीगढीमा राष्ट्रियस्तरको युद्ध संग्राहलय बन्ने भएको छ । सरकारले यसैपालि निर्माण सम्पन्न गर्नेगरी विनियोजन गरेको बजेटबाट नेपाली सेनाले संग्राहलय बनाउने जिम्मा पाएको हो ।
आज रक्षा मन्त्रालयमा रक्षा तथा उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेल तथा सिन्धुलीका जनप्रतिनिधिहरु माननीय हरिवोल गजुरेल, प्रधान सेनापति, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, रक्षा सचिव, पर्यटन तथा नागरिक उड्ययन सचिव, नेपाली सेनाका जनरलहरुलाई बर्दबहिनी गणका गणपति राजीव थापालेयुद्ध संग्राहलयको परियोजनाबारे बिस्तृत विवरण अभिमुखीकरण गर्नुभएको थियो ।
समग्र अध्ययन पश्चात रक्षा मन्त्री पोखरेलले उक्त परियोजना स्वीकृत गर्नुभएको छ । रक्षा मन्त्री पोखरेलले यो महत्वपूर्ण र दुर्लभ अवसरलाई समयमै सम्पन्न गरी सिन्धुलीको मात्र नभइ समग्र राष्ट्रको लागि योगदान गर्ने अवसर सिन्धुलीलाई मिलेको बताउनु भयो ।
संग्राहलयको अनुमानित लागत चार करोड पचास लाख लगभग भए पनि निर्माण सम्पन्न गर्दासम्म ६÷७ करोडसम्म लाग्न सक्ने कमलामाई नगरपालिकाका जनसंम्पर्क अधिकृत सागर कुमार ढकालले बताउनु भयो ।
९ नं. बाहिनी र बर्दबहिनी गणले संयुक्त रुपमा कार्य गर्न लागेको उक्त संग्राहलयको आगामी नौं मिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज ८, २०७६