कृषि हेडलाईन न्युज

राष्ट्रिय किसान आयोगको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, अध्यक्ष श्रेष्ठबाट मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

सुनकोशी न्युज, २०७६ असोज १४ गते मंगलबार
ललितपुर । राष्ट्रिय किसान आयोगको वार्षिक समिक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हरिहरभवनस्थित कृषि विभागको सभा हलमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनाललाई आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७६ हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री खनालले सरकारले विदेशिन वाध्य युवा किसानहरुका लागि सरकारले भरखरै नयाँ योजना पारित गरेको बताउनु भयो । उहाँले चक्लाबन्दी खेतीमा सरकारले विशेष अनुदानको व्यवस्था गरेको जानकारी दिनु भयो । पहाडमा एकसय रोपनी र तराईमा एकसय हेक्टर जमिनलाई चक्लाबन्दी गरेर खेती गरे सरकारले त्यसको सिंचाई, विउ र मलको ज्ञारेन्टी गर्ने बताउनु भयो । त्यसैगरी सुरु लगानीको लागि समेत सहयोग गर्ने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेका बस्तुले उचित बजार नपाए सरकारले खरिद गरिदिने पनि जानकारी दिनु भयो । यो कार्य संघ, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा गरिने उहाँको भनाई छ । मन्त्री खनालले सरकारले किसानलाई किसान परिचयपत्र वितरण गर्ने बताउनुभयो । निम्न, मध्यम र धनी किसान परिचयपत्रका आधारमा किसानलाई रिण दिने किसान बैंक खोलिने उहाँले जानकारी दिनुभयो । हाल रहेको कृषि विकास बैंक पूर्ण रुपमा व्यवसायिकरण भएकोले त्यसले खास किसानको पक्षमा काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

प्रतिवेदन पेस गर्दै अध्यक्ष श्रेष्ठले प्रतिवेदनमा किसानका खास समस्याहरु पहिचान भएको र ति समस्या समाधानका लागि उपायहरुको पहिचान भएको बताउनुभयो । कार्यक्रमले किसान र कृषि क्षेत्रको विकासका लागि काम गर्न अझ धेरै उत्साह प्रदान गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा पूर्व कृषिमन्त्री हरि पराजुलीले राम्रो कामको सुरुवात आफैंबाट गर्नुपर्ने भन्दै कृषिमा आधाुनिकीकरण र व्यवसायीकरणका लागि पहल सबैले आफूबाटै गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कृषि सचिव डा. युवकध्वज जिसीको पनि समुपस्थिति रहेको थियो ।
कार्यक्रममा कृषि पेसामा संलग्न किसान संघ÷संगठनका प्रतिनिधिहरु, विज्ञहरु, कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मङ्लबार, अशोज १४, २०७६