मुख्य समाचार

लागूऔषधसहित २ जना पक्राउ

 

 

प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलोबाट बिहीवार साँझ लागूऔषधसहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

लुअअसा ७३१ नम्बरको कारमा लागूऔषध लुकाएर ल्याउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पक्राउ परेका उनीहरुको साथबाट डाइजोपामा १३० एम्पुल, नुफिन १३० एम्पुल र फेनेरागन १३० एम्पुल गरी ३९० एम्पुल लागुऔषध बरामद गरिएको छ ।

रुपन्देही निवासी राजकुमार श्रेष्ठ कार चालकका रूपमा रहेकाले उनको लागुऔषध ओसारपसारमा संलग्नता भए/नभएको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

लागूऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

नवलपरासी जिल्ला लागूऔषध कारोवारीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । भारतीय सीमाक्षेत्र नवलपरासीको त्रिवेणी, महेशपुर, झोलनीपुर लगायतका क्षेत्रबाट लागूऔषध नेपाल भित्र्याउने र यहाँबाट देशका अन्य विभिन्न जिल्लामा पुर्‍याउने गरेको विभिन्न समयमा पक्राउ पर्ने लागूऔषध ओसारपसारकर्ताले बताउने गरेका छन् ।

भैरहवा नाकाबाट समेत लागूऔषध भित्र्याउने गरेको र नवलपरासीका विभिन्न स्थानमा राख्ने र अन्यत्र पुर्‍याउने गरेको पाइएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रहरीले लागूऔषध ओसारपसार नियन्त्रणका लागि राजमार्गमा विशेष जाँच गर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार चितवन, नवलपरासीका युवा प्रायः ओसारपसारकर्ताका रूपमा पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६