समाचार हेडलाईन न्युज

भ्रष्टाचार आरोपीत लम्बोदर न्यौपानेलाई सरकारले छाडिदियो

सुनकोशी न्युज
२०७७ पौष ६ गते सोमबार
काठमाडौं । भक्तपुर इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने थुनामुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान पूर्ण नभएको दाबी गर्दै न्यौपानेलाई छाड्न निर्देशन दिएको हो ।

ब्युरोले २५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने प्रावधान अनुसार सरकारी वकिलको कार्यालयमा फाइल पठाएको थियो । तर, कार्यालयले अनुसन्धान पूरा नभएको बताउँदै फाइल फर्काइदिएको हो ।

साथै, न्यौपानेलाई हाजिरी जमानीमा छाड्न पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको हो । ‘अब न्यौपानेलाई दैनिक हाजिरीका लागि बोलाएर थप अनुसन्धान गर्छौं’, ब्युरोका एक अधिकृतले भने ।

भक्तपुरका जिल्ला न्यायाधीवक्ता नवराज पराजुलीले न्यौपानेमाथिको अनुसन्धानमा केही कागज र रिपोर्ट पर्याप्त नभएकाले थप अनुसन्धान गरेर प्रष्ट पार्न प्रहरीलाई भनिएको अनलाइनखबरलाई बताए । पराजुलीले भने, ‘२५ दिनभन्दा बढी थुनामा राख्न नमिल्ने भएकाले न्यौपानेलाई चाहिँ तत्काललाई हाजिरी जमानीमा छाड्न भनिएको हो ।’

न्यौपानेले सर्वोच्च अदालतमा स्वामित्वको मुद्दा विचाराधीन भएको अवस्थामा सीआईबीले ठगीमा अनुसन्धान गर्न नमिल्ने दाबी गर्दै रिट निवेदन दिएका थिए ।ब्युरोले अनुसन्धानपछि ठगीसँगै कीर्ते मुद्दासमेत चलाउन सिफारिस गरेको थियो ।

‘प्रहरीले न्यौपानेलाई १० मंसिरमा पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले किटानी जाहेरी ब्युरोमा दिएका थिए ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

दुई वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

प्रकाशित मिति: सोमवार, पुस ६, २०७७