समाचार हेडलाईन न्युज

पूर्वमन्त्री गौतमको निधन

सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
तनहु, बन्दीपुर । पूर्वमन्त्री तथा जसपाका सल्लाहकार परिषद् अध्यक्ष भिमप्रसाद गौतमको निधन भएको छ ।

चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर फर्किएका उनको विहीबार बिहान बन्दीपुर –१ पिप्लेस्थित निवासमै निधन भएको हो ।

पूर्वभूमिसुधार मन्त्री गौतम किसान आन्दोलनको स्थापित नेता हुन् । तनहुँ स्थायी घर भएका गौतम पुराना कम्युनिष्ट नेता हुन् । डा. बाबुराम भट्टराईले नयाँ शक्ति गठन गरेपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य पद त्याग गरेर नयाँ शक्तिमा लागेका थिए ।

पछिल्लो समय राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा उनी सल्लाहकार परिषद्को अध्यक्षको जिम्म्वारीमा थिए ।

तनहुँ बन्दीपुरका भीमप्रसाद गौतम आफ्नै गाउँ बन्दीपुर गाउँपालिका–१ पिप्लेमा माछापालन व्यवसायमा पनि क्रियाशील थिए ।

मिति २००६ साल चैतमा जन्मिएका गौतम बन्दीपुर गाउँपालिका–१ पिप्लेमा माछापालन गर्दै प्रत्यक्षरुपमा कृषि पेशामा आवद्ध रहँदै आएका थिए ।

तत्कालीन जनमोर्चाबाट राजनीतिक जीवन आरम्भ गरेका उनी उक्त पार्टीको उपाध्यक्षसम्म बनेका थिए । किसान नेतासँगै शिक्षण पेशामा संलग्न उनी गण्डक क्षेत्रका अगुवा कम्युनिष्ट नेता समेत थिए ।
गौतमका एक श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०७७

 

 

ताजा अपडेट