समाचार स्थानीय हेडलाईन न्युज

आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजुवासीको प्रदर्शन

सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
काठमाडौं । सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासवासीले प्रदर्शन गरेका छन् ।

सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै उनीहरूले बिहीबार प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतको ८ चैत २०७३ मा ‘छलफलबाट टुँगो नलागेसम्म निवेदकहरूको घर आँगनमा प्रवेश गर्ने, अनधिकृत कब्जा गर्ने, भत्काउने जस्ता कुुनै पनि कार्य नगर्नु नगराउनु’ भन्ने आदेश दिएको थियो । त्यो आदेश कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ ।

काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ अनुसार शाखा सडकको चौडाइ १४ मिटर हुनुपर्दछ । त्यसअनुसार जग्गा दिन आफूहरू तयार रहेको स्थानीय भीमदेव श्रेष्ठ बताउँछन् । तर पहुँचवालाको घर जोगाउन सरकारले एकातर्फमात्रै १४ मिटर सडक विस्तार गरेको उनको भनाइ छ ।

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले भने बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २६५ मिटर दुरी सडक निर्माणका लागि डोजर लगाएको जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०७७