समाचार हेडलाईन न्युज

भारतीय सेनापति नेपाल आउदा गौतम समातिए

सुनकोशी न्युज
२०७७ कार्तिक १९ गते बुधबार
काठमाण्डौं । युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् । उनी बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन्।

गौतमले आफ्नो युट्युब च्यानलमा बुधबार नेपाल भ्रमणमा आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभानेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण पक्राउ परेका हुन्।

२०५४÷५५ सालतिर बारा जिल्लामा तत्कालिन नेकपा माओवादीका जिल्लास्तरीय नेता रहेका पुण्य गौतम विभिन्न कारणले पार्टी छाडेर काठमाण्डौं आई बसेका थिए । उनलाई तत्कालिन सुरक्षा फौजले पक्राउ गरी आत्मसमर्पण गराएर छाडेको थियो ।

शान्तिकाल आएपछि पुनः माओवादी आन्दोलनमा जोडिएका गौतम अध्ययनशील युवा व्यक्तित्व भएपनि चरम महत्वकांक्षा पाल्ने भएका कारण कतै पनि स्थीर भएर राजनीतिमा टिक्न नसकेका व्यक्ति हुन् । पछिल्लो समय उनी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

माओवादी केन्द्रसँगको एकतामा एमालेले उनको नाम केन्द्रीय समितिमा राखे पनि सपथ खानेबेलामा काटेपछि उनले नेकपा पार्टी छाडेका थिए । त्यसपछि केही युट्युबरहरुलाई जम्मा पारेर विभिन्न फण्डा गर्दै आएका गौतमले भारतीय सेनापतिलाई कालो झण्डा देखाउछु भनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्। नरवाने बुधबार अपरान्ह भारतीय सेनाको विशेष विमानमार्फत् नेपाल आउने छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल आउन लागेका हुन्। बुधबार उनको औपचारिक कार्यक्रम छैन। उनी होटल सोल्टीमा बस्नेछन्।

उनको भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले मंगलबार सुरक्षा जाँचमा कडाइ गरेको छ। मंगलबार दिउँसो सुरक्षा निकायबीच छलफलसमेत भएको थियो। यसै सिलसिलामा पुण्य गौतम पक्राउ परेका हुन् ।

नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ प्रधान सेनापति (महारथी) को दर्जा प्रदान गर्नेछिन्। नेपाल र भारतका सेनाले एक–अर्काका सेनापतिलाई मानार्थ सेना प्रमुखको दर्जा दिने परम्परा छ। नरवाने शुक्रबार भारत फर्कनेछन्।

प्रकाशित मिति: बुधबार, कार्तिक १९, २०७७