शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

मन्त्रीसँग एउटै कार्यक्रममा सहभागी गृहसचिव, भारतीय राजदूत र उपत्यका डिआइजी क्वारेन्टाइनमा

सुनकोशी न्युज
२०७७ असोज २५ गते आइतबार

काठमाण्डौं । गृहसचिव, भारतीय राजदूत र उपत्यका डिआइजी क्वारेन्टाइनमा बसेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग एकै कार्यक्रममा सामेल भएका गृहसचिव महेश्वर न्यौपानेसमेत क्वारेन्टाइनमा बसेका हुन्। मन्त्री भट्टराईलाई शनिबार कोरोना पुष्टि भएको थियो ।

यस्तै शुक्रबारमात्रै मन्त्रीसँग भेटघाट गरेका भारतीय राजदूत विनयमोहन क्वात्राले सम्पूर्ण भेटघाट बन्द गरेका छन् । उनी पनि क्वारेन्टाइनमा छन् । मन्त्री भट्टराईलाई लक्षणसहितको कोरोना संक्रमण देखिएपछि अधिकांश व्यक्ति शंकाको घेरामा परेका छन् ।

गत शुक्रबार मन्त्री भट्टराईसँग मन्त्रालयमै औपचारिक भेटघाट गरेका क्वात्रा र दूतावासका अर्का एकजना कर्मचारीसमेत योगेशलाई कोरोना पुष्टि भएपछि क्वारेण्टिनमा बस्नुपर्ने भएको हो । यससम्बन्धमा भारतीय दूतावासले औपचारिक सूचना सार्वजनिक गरिसकेको छैन ।

गत बिहीबार भट्टराई ताप्लेजुङ्गस्थित ओलाङ्गचुङ्गगोला र संखुवासभास्थित किमाथाँका नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना कार्यक्रममा काठमाडौंबाट हेलिकोप्टरमा जाँदा गृहसचिव न्यौपाने पनि सँगै थिए । त्यसअघि पनि उनी विमानस्थल उद्घाटनको कार्यक्रममा पश्चिम नेपालका विभिन्न जिल्ला पुगेका थिए ।

मन्त्री भट्टराईलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि न्यौपाने पनि क्वारेन्टाइनमा बसेका हुन् । उक्त कार्यक्रममा मन्त्रीसँगै सशस्त्र प्रहरीका धेरैजना र स्थानीय नेता तथा कार्यकर्तासमेत सहभागी थिए ।

यस्तै उपत्यकाका डिआइजी विश्वराज पोखरेल पनि एकान्तबासमा छन् । मन्त्रीसँगै विभिन्न कार्यक्रममा सामेल पोखरेल मन्त्रीमा कोरोना देखिएपछि एकान्तबासमा बस्न पुगेका हुन् ।

प्रकाशित मिति: आइतवार, अशोज २५, २०७७