स्थानीय हेडलाईन न्युज

सिन्धुपाल्चोकका ७३ पहिरो पीडित परिवारहरुलाई  लायन्स क्लबस् डिष्ट्रिक्ट ३२५ ए २ द्वारा सहयोग 

काठमाडौं । लायन्स क्लबस् अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ ए २ द्वारा लायन्स क्लबस् अन्तर्राष्ट्रिय फाउण्डेशन (LCIF) बाट प्राप्त इमर्जेन्सी ग्राण्ट अन्तर्गत सिन्धुपाल्चोकका पहिरो पीडितलाई यही आश्विन ४ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउंपालिका वार्ड नं. १ र जुगल गाउंपालिका वार्ड नं. ५ का ७३ पहिरो पीडित परिवारहरुको लागि राहत सामग्री उपलव्ध गराएको छ ।

डिष्ट्रिक्ट ३२५ ए२ का डिष्ट्रिक्ट गभर्नर लायन सुशिला मल्लको नेतृत्वमा गएको एक टोलीले पहिरो पीडितको स्थलमै पुगेर उक्त सहयोग उपलव्ध गराइएको हो । उपलव्ध गराइएको उक्त राहत सामग्रीमा चामल, दाल, पीठो, तेल, नून, चियापत्ति र चिनी, मस्यौरा जस्ता खाद्यान्न, दलहन र तेलहन सामग्री तथा साबुन र मास्क जस्ता कोभिड रोकथामका सामग्री एवं प्रत्येक घरधुरीका लागि एक थान कम्बल प्रदान गरिएको थियो ।

उक्त अवसरमा डिष्ट्रिक्ट ३२५ ए२ सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन दिनेशप्रसाद श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन उत्तम झा, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर लायन डा. कमल बहादुर कायस्थ, क्लष्टर चीफ लायन गोकुलप्रसाद प्रजापति, एडिशनल क्याबिनेट सेक्रेटरी लायन रुकेश रञ्जित, एडिशनल क्याबिनेट ट्रृेजरर लायन प्रदीप खनाल र लायन्स क्लब अफ भक्तपुर अरनिकोेका अध्यक्ष लायन विष्णु प्रजापति सो स्थानमा उपस्थित रही राहत सामग्री वितरणमा सहयोग गर्नु भएको थियो ।

साथै जुगल गाउंपालिका वार्ड नं. ५ का वार्ड अध्यक्ष सनत कुमार अधिकारी र बलेफी गाउंपालिका वार्ड नं. १ सदस्य श्याम खड्काज्यू लगायतले राहत सामग्री वितरणमा संयोजन र सहयोग गर्नु भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, अशोज ६, २०७७