हेडलाईन न्युज

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन : यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत र गैरलोकतान्त्रिक प्रक्रियाबाट निर्माण गरिएको बताएका छन् । उनले आपूmहरु सडकमा आन्दोलन गरिरहेकै बेला संविधानका अन्तरवस्तुमा संविधानसभाभित्र न्यूनतम छलफल र बहस समेत नगरी केही नेताहरुले बालुवाटारमा बसेर संविधान निर्माण गरेको बताए । शनिबार समाजवादी पार्टी निकट संघीय कानुन व्यवसायी एशोसियशनले आयोजना गरेको ‘नेपालको संविधानबारे जनता समाजवादी पार्टी नेपालको धारणा’ विषयक भर्चुअल अन्तरक्रियामा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले राज्यको पुनर्संरचना आयोगले दिएको प्रतिवेदनको आधारमा राज्यको पुनर्संरचना गर्ने भनिए पनि आयोगको प्रतिवेदनलाई बेवास्ता गरी केवल प्रशासनिक संघीयता निर्माण गरिएको बताए । उनले भने, ‘आयोगको प्रतिवेदनमा संघीयताको दुईवटा आधार थियो, एउटा पहिचानको आधार र दोस्रो सामथ्र्यको आधार । तर अहिलेको प्रदेश न पहिचानको आधारमा छ न सामथ्र्यको आधारमा छ ।’

उनले संविधानमा पञ्चायतकालीन पाँच विकास क्षेत्र जस्तो संघीयता बनाइएको र प्रदेशहरुलाई अधिकारविहीन बनाइएको बताए ।
सो क्रममा उनले संविधानले उत्पीडित जाति समुदायको अधिकार नै नदिएको र केही दिएको अधिकार पनि कानुन बनाएर खोस्ने काम गरिएको बताए । उनले भने, ‘अधिकांश कानुनहरु संविधान विपरित छन् । संविधानले दिएको अधिकार पनि कानुन बनाएर खोसिएको छ र विस्तारै संघीयतालाई कमजोर पार्ने एकात्मकलाई बलियो पार्ने काम भइरहेको छ ।’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले अहिलेको संविधानले मुलुक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त भनेर स्वीकार गरे पनि राज्यको संरचना गर्दा विविधतालाई सम्बोधन नगरिएको बताए । उनले भने, ‘यो संविधानले एउटा कुरा मान्यो, त्यो के हो भने मुलुक बहुजातीय छ, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, क्षेत्रीय विविधतासमेत छ भनेर मान्यो तर त्यो विविधतालाई राज्यको संरचनाभित्र कहाँ प्रतिविम्बित गर्यो ?’

उनले पहिचानसहितको संघीय प्रदेश बनाउने कुरालाई जातीय राज्यको रुपमा व्याख्या गरी पहिचान समाप्त पार्ने काम गरिएको भन्दै वर्तमान संविधान राष्ट्रिय एकताको दस्तावेज बन्न नसकेको बताए । उनले भने, ‘यो संविधान राष्ट्रिय एकताको दस्तावेज हुन सक्दैन, यसले राष्ट्रिय एकतालाई बल पुर्याउँदैन । त्यसैले यो संविधानलाई सबैको सहमतिमा शान्तिपूर्ण ढंगले संशोधन गरी सच्याउनुपर्दछ ।’

जनता समाजवादी पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले संविधान दिवस सबै नेपालीको दिवस हुन नसकेको बताए । उनले अहिलको संविधान नश्लवादी सोचका साथ बनाइएकोले संविधान सबैको हुन नसकेको जिकिर गरे ।उनले भने, ‘जब नश्लवादी सोचबाट संविधान बनाइएको छ अनि त्यो सबैको बन्दैबन्दैन ।’ उनले संविधान फेरियो व्यवस्था फेरियो तर विचार र व्यवहार नफेरिएको बताए ।

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले राष्ट्रियसभालाई चुनाव हारेका नेता थुपार्ने डम्पिङ साइट बनाइएको भन्दै संविधान संशोधन गरी राष्ट्रियसभालाई जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने र ख्यातिप्राप्त व्यक्तिहरुलाई ल्याउने निकाय बनाउनुपर्ने बताए । दिपक राईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन नारायण खरेलले गरेका थिए भने उक्त भर्चुअल अन्तरक्रियामा जनता समाजवादीका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति: आइतवार, अशोज ४, २०७७