बागमती स्थानीय

ध्यान कुटी विहारमा एकदिने पवित्र महापरित्राण पाठ

काभ्रे । बनेपास्थित ध्यानकुटी विहारमा एकदिने महापरित्राण पाठ सु–सम्पन्न भएको छ । स्थानीय हर्ष बहादुर रंजित एवं हेराशोभा रंजितको सु–स्वास्थ्यको कामना तथा सम्पूर्ण सत्वप्राणीहरुको सुख शान्ति प्राप्ति होस भन्ने मंगलकामना सहित सो पवित्र महापरित्राण पाठ गरिएको हो । महापरित्राण पाठको शुरुवात भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासक उपासिकाहरुलाई पञ्चशील प्रदान गरी गर्नुभएको थियो । यसपछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको उद्देश्य, आनिशंस (फल) र महत्वबारेमा प्रकाश पार्नुभएको थियो । शुरुको चरणमा महापरित्राण मण्डपभित्र भिक्षु महासंघद्वारा सामूहिक महापरित्राण पाठ गरिएको थियो भने पछि दुई दुईजना भिक्षुहरुबाट युगल महापरित्राण पाठ गर्नुभएको थियो । साथै अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्थविरले धम्मचक्कपवत्तन सुत्तका बारेमा धर्मदेशना दिनुभएको थियो ।
भिक्षु महासंघबाट सामूहिक रुपमा आह्वान सूत्र पाठ गरी सामूहिक रुपमा शुरु भएको उक्त पवित्र महापरित्राण पाठमा हर्षबहादुर र हेराशोभा रंजित तथा परिवार एवं उपस्थित उपासकउपासिकाहरुले भिक्षु महासंघलाई दान प्रदान पनि गरेका थिए । कार्यक्रम अघि नेपालका उपसंघनायक श्रद्धेय भिक्षु बोधिसेन महास्थविर लगायत भिक्षु अनागारिका गुरुमाहरुका साथ उपस्थित उपासक उपासिकाहरुबाट सामूहिक बुद्धपूजाका साथ पवित्र महापरित्राणको पुस्तक एवं बुद्धका प्रतिमाहरु आ–आफ्ना शीरमा राखी ध्यानकुटी विहार परिक्रमा गरेर महापरित्राण स्थलभित्र प्रवेश गरेका थिए । कार्यक्रमको अन्तमा उक्त विहारका विहारप्रमुख भिक्षु राहुल महास्थविरले सम्पूर्ण उपासक उपासिकाहरुलाई पुण्यानुमोदन गराउनु भएपछि पवित्र महापरित्राण पाठ सु–सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विहारबाट पाल्नु भएका भिक्षु, अनागारिका गुरुमांहरु तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो ।– सुनीता तुलाधर
प्रकाशित मिति: सोमवार, मंसिर १६, २०७६