मुख्य समाचार

पार्टीको आन्तरिक विवादमा नेकपाका नेताले वडाध्यक्ष कुटे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेताले आफ्नै पार्टीका जनप्रतिनिधिलाई कुटपीट गरेका छन् । जिल्ला कमिटीका सचिवालय सदस्य अशोककुमार थापाले चिसंखुगढी गाउँपालिका २ का वडाध्यक्ष नरेन्द्र बस्नेतमाथि कुटपीट गरेका हुन् । पार्टीको आन्तरिक विवादको विषयलाई लिएर विवाद हुँदा थापाले बस्नेतमाथि गिलास प्रहार गरी घाइते बनाएका हुन् ।

शनिबार बेलुका पार्टीको कार्यक्रम सकेर पोखरेमा खाजा खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेर घाइते बनाएको बस्नेतले बताए । उनले भने, ‘ विकासका योजनाका विषयमा छलफल गर्दा गाली गलौज गरेर मलाई आक्रमण गरेर घाइते बनाए ।’ बस्नेतको निधार र टाउकोमा गहिरो चोट लागेको छ । उनलाई खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।

बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् । पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर यस अघिदेखि नै थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुँदै आएको थियो।

पार्टीको गाउँ कमिटीका अध्यक्षमाथि कुटपीट गरेको विषयमा थापाले आफू र प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङलाई लिएर गाली गलौज गरेर आक्रमण गर्न खोज्दा प्रतिवाद गरेको बताए ।उनले भने, ‘गाली गरेर झम्टिए, मेरो हातमा रहेको गिलासले ठेलिएको हो, नियतबस हानेको होइन।’ थापा गुरुङका विश्वास पात्र हुन् । उनीसँग नेकपाका स्थानीय कमिटी तथा जनप्रतिनिधीसँग विगतदेखि नै विवाद हुँदै आएको थियो ।

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७६