मुख्य समाचार

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो

 भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारत सरकारको निर्णयको प्रत्यक्ष असर नेपालको बजारमा पर्ने देखिएको छ ।

निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत सरकारका प्रवक्ता सितांशु केरले सञ्चार माध्यमहरुसँग बताएका छन् । केरका अनुसार आइतबारबाट लागू हुने गरी सबै प्रकारका प्याजको निर्यात रोकिएको छ ।

भारतीय सञ्चार माध्यामहरुकाअनुसार दिल्ली तथा मुम्बई जस्ता शहरमा प्याजको औसत मूल्य ७० देखि ८० रुपैयाँ भारु पुगेको छ । भारतमा प्याजको होलसेल मूल्य प्रति क्वीन्टल ४ हजार भारुबाट पछिल्लो एक महिनामै एक हजार रुपैयाँले बढेको थियो ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपाली बजार पनि प्रभावित हुने भएको छ । भारतमा मूल्य बढेसंगै पछिल्लो समय प्याजको मूल्य बढ्दो क्रममा छ ।

आइतबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने १०५ रुपैयाँसम्म पुगेको छ ।

नेपालले चालू आर्थिक वर्षको पहिलो एक महिनामा १४ करोड ७३ लाख ९ हजार २७८ किलो प्याजका विभिन्न आइटम तथा १ लाख ६३ हजार १३१ किलो सुकेको प्याज भारतबाट आयात गरेको थियो ।

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७६