मुख्य समाचार समाचार हेडलाईन न्युज

अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाउन सुरु, ३५ घरधुरीका संरचना भत्काइँदै

सुनकोसी न्यूज

जेष्‍ठ १ गते, शुक्रबार

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज सडकखण्डमा सडक, वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य सुरु गरिएको छ।

शुक्रबार बिहानदेखि राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ घरधुरी र लामो समयदेखि बन्द रहेको एक सामुदायिक विद्यालयको भवन भत्काउन थालिएको हो। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु गरिएको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी परिचालन गरिएको छ।

अतिक्रमण हटाउने क्रममा केही समय स्थानीयवासी र प्रशासनबीच सामान्य झडपको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य रहेको डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिएका छन्।राजमार्गको ३ नम्बर पुल आसपास अतिक्रमण गरी बसोबास गर्ने अधिकांश व्यक्ति मकवानपुरका स्थायी बासिन्दा रहेको र उनीहरूले सो क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएको बताइएको छ।

डिभिजन सडक कार्यालयले राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउन थालेपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वको जग्गा खाली गराउने प्रक्रिया अघि बढाएका हुन्।सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडक किनारका अवैध संरचना हटाउने काम जारी रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १, २०८३

 

 

ताजा अपडेट