मुख्य समाचार समाचार हेडलाईन न्युज

गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत

सुनकोसी न्यूज

जेष्ठ १ गते शुक्रबार

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ। सरकारले कार्य विभाजन नियमावली संशोधन गर्दै देशको एकमात्र गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राखिएको थियो। पछि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले उक्त विभागलाई पुनः गृह मन्त्रालय मातहत फर्काएको थियो।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गरेका रास्वपा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री बनेपछि गुप्तचर निकायलाई पुनः प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको हो।

सरकारले १५ चैतमा सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र २०८२’ मा समेत गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न सुझाव दिइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजकत्वको समितिले तयार पारेको उक्त मार्गचित्रको ८०२ पृष्ठमा विभागलाई स्थायित्व दिन प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने उल्लेख गरिएको थियो।

मार्गचित्रमा ‘विभागलाई पटक–पटक मन्त्रालय परिवर्तन नगरी प्रधानमन्त्री कार्यालय मातहत राखेर स्थायित्व दिने’ उल्लेख गर्दै तीन महिनाभित्र कार्यान्वयन गर्न सुझाव दिइएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोही सुझावअनुसार अहिले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको हो।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १, २०८३

 

 

ताजा अपडेट