मुख्य समाचार

राजपा संयोजक यादवले सटुक्क बोलाए बैठक

११ भदौ २०७६

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएका छन्।

अनिल झा बाहेक अन्य अध्यक्षसँग छलफन नै नगरी शुक्रबार र शनिबार राजनीतिक समितिको बैठक बोलाएको भन्दै राजपाका एकजना अध्यक्षले आपत्ति जनाए। ‘उहाँलाई राजनीतिक समितिको बैठक बोलाउने अधिकार नै छैन, राजनीतिक समितिको बैठक बोलाउँदा उहाँले अरु अध्यक्षसँग छलफल समेत गर्नुभएको छैन’, ती अध्यक्षले भने, ‘यो बैठक कुनै हालतमा बस्न सक्दैन।’

अध्यक्षमण्डल संयोजक राजकिशोर यादवले भने छलफल गर्नुपर्ने राजनीतिक समितिका सदस्यसँग छलफल गरेरै बैठक बोलाएको बताए। ‘आज बिहान केही साथीहरुले असन्तुष्टी व्यक्त गर्दै हुनुहुन्थ्यो, मैले हजुरको असन्तुष्टी बैठकमा राख्नुहोला भनिदिए, बैठक छलफल कै लागि त बोलाइएको हो, बैठकभन्दा पहिला के को छलफल?’, संयोजक यादवले भने,‘लोकतन्त्रमा सबैले आफ्नो कुरा भन्न पाउने अधिकार छ, त्यसैले बैठक बोलाइएको हो, यसमा विवाद गर्नुपर्ने कारण छैन।’

पार्टीका सबै बैठक छलफल गरेरै बोलाउनु पर्ने राजपाका महासचिव केशव झाले प्रष्ट पारे। ‘छलफल नै नगरी सुटुक्क बैठक बोलाउनाले पार्टीभित्र नराम्रो प्रवृति विकास हुन्छ’, उनले भने,‘पार्टीभित्रका कुनैपनि नेता कार्यकर्ता यस्तो प्रवृतिसँग सहमत हुन सक्दैनन्।’

पछिल्लाे समय राजपाभित्र पार्टी एकताकाे बहसले चर्चा पाएकाे छ। नयाँ शक्ति र संघीय समाजवादीबीचको एकतापछि बनेकाे समाजवादी पार्टीसँग राजपाकाे एकता हुने चर्चा पार्टीभित्र चलिरहेकाे छ। तर, राजपाभित्र  एउटा पक्षले समाजवादीसँग एकता गर्नै नहुने अडान लिइरहेकाे छ।

अर्काे पक्ष भने सरकारबाट बाहिरिएपछि समाजवादीसँग एकता गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छ।

प्रकाशित मिति: बिहिबार, भदौ १२, २०७६