मुख्य समाचार

ईश्वर पोखरेल र देवेन्द्र पौडेलबाट स्कुलिङ विभागको कार्यभार ग्रहण

सुनकोशी न्युज, २०७६ भाद्र ७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेल र स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी स्कुलिङ विभागको जिम्मेवारी ग्रहण गरेका छन् ।
आज तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित पूर्व एमालेको स्कुलिङ विभाग बुझबुझारथ कार्यक्रममा उनीहरुले प्रमुख र उपप्रमुखको रुपमा विभागको जिम्मेवारी ग्रहण गरेका हुन् । कार्यक्रममा तत्कालिन एमालेका तत्कालिन स्कुल विभागका उपप्रमुख शंकर पोखरेलले वर्तमान स्कूल विभागका प्रमुख पोखरेल र उपप्रमुख देवेन्द्र पौडेललाई पदभार ग्रहण गराउनुका साथै विभागका सबै कुरा हस्तान्तरण गरेका थिए ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य पोखरलले स्कुल विभागका लागि शुरुमा कुनै विवाद नभएको र प्रस्ताव नै नआएको बताए । जुन दिन प्रस्ताव आयो, त्यही दिन सहमतिमा टुङ्गिएको उनले दावी गरे । कार्यक्रममा उनले स्कुल विभागको बारेमा अन्यथा नबुझ्न सबैलाई आग्रह गरे । विचार, संगठन र नेतृत्वलाई व्यवस्थित गर्ने काम स्कुल विभागको रहेको बताए ।
पार्टीले गरेको निर्णयलाई संस्थागत गर्दै व्यवस्थित बनाउने काम स्कुल विभागको रहेकोले पार्टीको आधिकारीक लाइनभन्दा दायाँबायाँ स्कुल विभागले नगर्ने उनको भनाइ रहेको छ ।
स्कुल विभागका वर्तमान उपप्रमुख देवेन्द्र पौडेलले नेकपाले अझैँ २० वर्ष शासन गर्ने धारणा राखे । उनले भने, ‘जनताले वामपन्थीलाई जुन विश्वासका साथ रुचाइएको छ । त्यही अनुसार काम गर्दै जाने हो भने अबको २० वर्षसम्म नेकपा नै ठूलो दलको रुपमा रहनेछ ।’

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६