मुख्य समाचार

पूर्वयुवराज पारसका विवादित शृङ्खलालागूऔषध कारोबारदेखि प्रवीण गुरुङ मृत्युसम्म

विगतदेखि नै विवादित छबि बनाएका पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन् । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि हातपात गरेपछि शाह फेरि विवादमा तानिएका हुन् ।

आमा अर्थात् पूर्वरानी कोमल शाहलाई विदाई गर्न विमानस्थल पुगेका पारसले बर्दीमा रहेका प्रहरीमाथि हातपात गरेका हुन् । छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंहसँगै विमानस्थल पुगेका पारसले विमानस्थल छिर्ने गेटमा रोक्न खोज्दा पारसले प्रहरी नायव निरीक्षकलाई छातीमा समातेर धकेलेका थिए ।

ड्यूटीमा खटिएका प्रहरी अधिकारीमाथि हातपात गरेका पारसलाई कारबाही हुनुपर्ने आवाज उठिरहेका बेला प्रहरीले भने घटनालाई ‘सामान्य’ भनेको छ । प्रहरीले ‘पारसलाई नचिनेर रोक्न खोजेको’ प्रतिक्रिया दिएको छ ।

पारसले प्रहरी अधिकारीमाथि हातपात गरेको विषय चर्चामा छन् । यसकारण उनी विवादमा तानिएका छन् । तर, पूर्वयुवराज पारसको विवादित शृङ्खला लामो छ । शाहज्यादा हुँदादेखि सुरु भएको उनको विवादित शृङ्खला पूर्वयुवराज हुँदा पनि जारी छ ।

यस्तो पारसको विवादित शृङ्खला

पारस २२ साउन २०५७देखि विवादमा आएका हुन् । उनले चलाएको कारको ठक्करबाट गायक प्रवीण गुरुङको मृत्यु भएयता उनी विवादमा आइरहेका छन् ।

२८ फागुन २०६७ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीमाथि उनले गोली चलाएका थिए । उक्त अभियोगमा उनलाई प्रहरीले गरेको थियो ।

त्यस्तै, २०६८ साल जेठमा उनले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई कुटपिट गरेको समचार सार्वजनिक भएको थियो ।

जुलाई २००४ मा बुबा अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा आयोजित भोजमा उनले गोली चलाएका थिए । एभरेस्ट होटलको ग्यालेक्सी डिस्कोमा उनले गोली चलाएका थिए ।

त्यस्तै, दरबारमार्गस्थित क्लब डाइनेस्टीमा बाउन्सरसँग विवाद भएपछि उनले गोली चलाएका थिए ।

सिंगापुर र थाइल्यान्डमा उनी लागूऔषधसहित पक्राउ परेका थिए । त्यस्तै थाइल्यान्डमै थाई युवतीसँगको प्रेम सम्बन्धका कारण पनि उनी चर्चामा आएका थिए ।

श्रीमती हिमानी शाहसँग गर्ने व्यवहारका कारण पनि उनी विवादमा आइरहन्छन् ।

केही महिना अघिमात्र उनलाई अतितिव्र गतिमा कार चलाएपछि ट्राफिक प्रहरीले चिट काटेको थियो ।

यीलगायत यस्ता थुप्रै घटनाका कारण पूर्वयुवराज पारस प्रायः विवादमा आइरहन्छन् ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७६