समाचार हेडलाईन न्युज

प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

सुनकोशी न्युज
२०७७ चैत २० गते शुक्रबार
लुम्वीनी ।
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिले राजीनामा माग गर्ने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान र जनविरोधी क्रियाकलाप जारी राख्यो र हुँदाहुँदा दलभित्रको द्वन्द्व हल गर्ने क्षमता नराखेर प्रतिनिधिसभा विघटन गर्ने असंवैधाकि कदम चाल्यो ।’

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि त्यो नैतिक र राजनीतिक अभिभारा पुरा नगरेको भन्दै उनले अघि भने, ‘हामीलाई अपेक्षा थियो प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु हुनेछ ।’

तर त्यसो नभएकाले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए । केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माले अघि भने, ‘प्रतिगमन भएको थियो र वर्तमान सरकारलाई विस्थापन गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्ने दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा एकठाउँमा उभिएर विकल्पमा जानुपर्छ ।’

केन्द्रीय कार्यसमिति बैठक अगाडि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलमा लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २०, २०७७