समाचार हेडलाईन न्युज

नेकपाको सम्भवतः अन्तिम बैठक सकियो, माओवादी–एमाले अब अलग पार्टी

सुनकोशी न्युज
२०७७ फाल्गुण २४ गते सोमबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को हैसियतमा आज पेरिसडाँडामा बसेको सम्भवतः अन्तिम बैठक सम्पन्न भएको छ । फाल्गुण २३ गते अदालतले नेकपाको आधिकारिकता खारेज गरेपछि पार्टी एकता भंग भएको हो ।

अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीका रुपमा निर्वाचन आयोग र संसदीय दलमा प्रतिनिधित्व गर्नेछन् । नेकपाका अध्यक्ष माधव नेपाल लगायतका पूर्व एमालेका सबै नेता र सांसद एमालेमै फर्किने र माओवादी केन्द्रका यतै रहने निर्णय बैठकले गरेको छ । नेपालले एमालेमै रहेर ओलीप्रवृत्तिका बिरुद्ध लड्ने र एकताको प्रकृयालाई अगाडि बढाउने बताए ।

यसबीच नेकपाको हैसियतमा भएका तीनै तहका उपचुनाव र त्यसबाट निर्वाचित जनप्रतिनिधिहरुको अवस्था के हुने भन्ने बारे अन्यौलता सिर्जना भएको छ । त्यसैगरी माओवादी केन्द्रको नामबाट चुनाव लडेर सांसद भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, रामबहादुर थापा बादल लगायतको पद पनि धरापमा परेको छ । उनीहरु माओवादीमै फर्किने कि एमालेमा बस्ने भन्ने अन्यौलता भएको छ ।

नेपालको संविधान २०७२ अनुसार एउटा पार्टीबाट निर्वाचित सांसद अर्को पार्टीमा प्रवेश गर्दा उसको सांसद पद स्वतः खारेज हुने प्रावधान छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २४, २०७७