समाचार हेडलाईन न्युज

नेकपाले प्रतिगमनबिरोधी आन्दोलनका थप कार्यक्रम अन्य दलसँग परामर्शपछि घोषणा गर्ने

सुनकोशी न्युज
२०७७ पौष १५ गते बुधबार
काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने कार्यक्रम पनि तत्काललाई स्थगित भएको छ ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगे पनि बैठक बसेन । संसद विघटनको विरोधमा रहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको नेताहरुले बताएका छन् ।

स्थायी कमिटी सदस्य एवं संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई भन्छन्, ‘भोलि र पर्सि अरु दलहरुसँग पनि छलफल गर्छौं, त्यसपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसमा आन्दोलनबारे अलमल देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले अझै पनि पर्ख र हेरको अवस्थामा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनमा जोड दिएको छ । आन्दोलन गर्नुपर्छ भन्नेहरुमा पनि कांग्रेस एकल रुपमा जाने कि प्रचण्ड–माधव समूह लगायतसँग मिलेर जाने भन्नेमा बहस छ ।

जनता समाजवादी पार्टीले एकल रुपमा आन्दोलनको घोषणा गरेको छ । जसपा नेताहरुका अनुसार नेकपा दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा पार्टी नफुटेकाले आन्दोलनमा सहकार्य गर्न गाह्रो भएको बताउँछन् । एक नेता भन्छन्, ‘नेकपासँग मिलेर नेकपाविरुद्ध कसरी आन्दोलन गर्ने ?’

तर नेकपाका केही नेता अझै पनि अन्य दलहरुसँग आन्दोलनमा सहकार्य हुनेमा आशावादी रहेका देखिन्छन् । सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको केन्द्रीय संघर्ष समितिले मंगलबार देशभर भएको प्रदर्शनको समीक्षा गरेको छ । प्रदर्शन उत्साहजनक भएको नेताहरुको निष्कर्ष छ ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७