अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सेयर बजारमा उल्लेख्य सुधार, ७२ अंकले बढ्यो नेप्से

सुनकोशी न्युज
२०७७ मंसिर २२ गते सोमबार
काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर कारोबार परिसूचक नेप्से ७२।२८ अंकले बढेर दुई हजार ४।३९ अंकमा पुगेको छ ।

आइतबार एक सय २३ अंकले नेप्से परिसूचक घटेको थियो । नेप्से परिसूचक बढे पनि आइतबारको तुलनामा आज कारोबार रकम भने घटेको छ । तर, कारोबार हुने कम्पनीको संख्या भने बढेको छ ।

आइतबार एक सय ९७ कम्पनीको सात अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । आज दुई सय ६ कम्पनीका ६ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

६० हजार ५५ वटा कारोबारबाट एक करोड १९ लाख २० हजार आठ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा धेरै व्यापार समूह ६।५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह ६।०४ प्रतिशतले बढेको छ । यसैगरी बैंकिङ २।२३, होटेल ३।०५, विकास बैंक २।०२, हाइड्रोपावर ५।९९, लघुवित्त ४।३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर २२, २०७७