समाचार हेडलाईन न्युज

नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

सुनकोशी न्युज
२०७७ मंसिर १० गते बुधबार
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

२ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७