अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सरकारले सहुलियत मूल्य पसल सञ्चालन गर्ने

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । सरकारले आजदेखि काठमाडौँ उपत्यकालगायत देशभरि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले दशैँ गायतका पर्वलाई लक्षित गरेर बिहीबारदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

एकीकृत सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा रहने छन् । त्यसैगरी देशका अन्य केही मुख्य सहरमा पनि सहुलियत पसल संचालन हुनेछन् । यसरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एकीकृत सहुलियत पसल आउँदो मङ्सिर ६ गतेसम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

प्रकाशित मिति: बिहिबार, अशोज १५, २०७७