समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीमा मोटरसाइकल र साइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते

सुनकोशी न्युज
२०७७ भाद्र ३० गते मंगलबार

सिन्धुली । सिन्धुलीको दुधौलीमा मोटरसाइकल र साइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार सुनसरी इटहरीका यादव ढंगानाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका, वडा नं. ७ सुगारेस्थित मदन भण्डारी राजमार्गमा कटारीबाट दुधौली तर्फ गइरहेको लु ५८ प २६३८ अस्थाई नंबरको मोटरसाइकल र विपरित दिसाबाट आईरहेको साईकल आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा सुनसरीको ईटहरी घर भई हाल लघुउद्योग बित्तिय संस्था दुधौली शाखाको शाखा प्रमुख रहेका बर्ष २६ का यादव ढुङ्गानाको टाउकोमा गहीरो चोट लागेकाले उपचारको लागि तत्कालै सिराहाको फुलकुमारी अस्पताल कर्जनाहामा लागिएकोमा सोही दिन राती ११ः५० बजेको समयमा उनको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार अर्का घाइते बारा जिल्ला निजगढ नगरपालिका, वडा नं. ७ घर भई हाल आरम्भ माईक्रो फाईनान्स् दुधौलीमा काम गर्ने बर्ष २४ को अनिल घिमिरेको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनलाई सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनामा घाइते साइकल चालक सिन्धुलीको दुधौली नगरपालिका, वडा नं. ७ सुगारे बस्ने बर्ष २३ का रासलाल अधिकारीको अगाडीका ५ वटा दाँत भाँचिएको छ । उनको हात र खुट्टामा पनि चोट लागेको छ । अहिले उनको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटरसाइकलमा सवार दुबैजनाको सवारी चालक प्रमाणपत्र (लाइसेन्स्) नभएको खुल्न आएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३०, २०७७