मुख्य समाचार समाचार

आज ११ बजे मन्त्रीपरिषद बैठक बस्दै, खतिवडा बाहिरिने

सुनकोशी न्युज
२०७७ भाद्र १९ गते शुक्रबार
काठमाण्डौं । आज ११ बजे बस्ने मन्त्रीपरिषदको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका उनको सचिजालयले जानकारी दियो ।

बुधबारै राजीनामा दिने तयारी गरेका खतिवडालाई प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७