मुख्य समाचार

सेवाग्राहीसँग घुस लिने मालपोतका नासु र खरिदार अख्तियारको फन्दामा

साउन २०, २०७६

मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डे घुससहित पक्राउ परेका छन् ।

लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपूर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुसबापत लिएको ८ हजार रूपैयाँ नगदसहित अख्तियारको टोलीले आइतवार रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, साउन २०, २०७६