मुख्य समाचार

विराटनगरबाट आएका ११५ जना काठमाडौं छिरे, ४५ जना नागढुंगामा अलपत्र

चल्लीमा परेका भन्छन्– एक ठाउँबाट उठाएर ल्याएर यसरी अलपत्र छाड्न पाइन्छ ?

विराटनगरबाट काठमाडौं आएका ४५ जना नागढुंगा चेकपोस्टमा अलपत्र परेका छन् । उनीहरूसँगै आएका १ सय १५ जना भने काठमाडौंका विभिन्न स्थानमा प्रवेश गरेका छन् ।

विराटनगर महानगरपालिकाले समन्वय गरेर ७ वटा बसमा राखेर उनीहरूलाई आइतवार काठमाडौं पठाइदिएको थियो ।

 

सोमवार बिहान ६ बजेको समयमा काठमाडौं आएका उनीहरू मध्याह्नसम्म नागढुंगामै रहेका छन् । माथिको आदेश भन्दै प्रहरीले आफूहरूलाई रोकिराखेको उनीहरूले बताए ।

अलपत्र परेका नागरिकलाई गन्तव्यमा पुर्‍याइदिनेभन्दै विराटनगर महानगरले नामावली संकलन गरेर उनीहरूलाई काठमाडौं पठाएको थियो ।

‘उताको महानगरले पठायो हामीलाई अहिले अलपत्र पारियो,’ बालाजुका श्यामहरि अधिकारीले  भने, ‘कि हामीलाई घर जान दिनुपर्‍यो कि पुरानै ठाउँमा फर्काइदिनुपर्‍यो ।’

 

कसैलाई छाड्ने र कसैलाई रोक्ने गरेर सरकारले विभेद गरेको उनले आरोप लगाए । ‘एउटा स्थानीय तहले यसरी पठाउने अर्कोले रोक्न पाइन्छ ?’ अर्का एकजनाले प्रश्न गरे, ‘हामी यहाँ भोकभोकै छौं, यसरी अलपत्र पार्न पाइन्छ ?’ काठमाडौं भित्रिएका १ सय १५ जनाको नाम र फोन नम्बर टिपेर प्रहरीले घर पठाइदिएको हो ।

६ महिनाको बच्चा बोहेर आएकी एक महिलाले बिचल्लीमा परेको बताइन् । ‘कि हामीलाई नपठाएको भए हुन्थ्यो, यसरी सडकमा अलपत्र पार्न पाइन्छ ?’ उनले सरकारप्रति आक्रोश पोखिन् ।

 

काम विशेषले विराटनगर पुगेका उनीहरू अलपत्र परेका थिए ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने कि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

काठमाडौंबाट बाहिरिनेलाई भने प्रहरीले सहज ढंगले छाडिदिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गएको चैत ११ देखि लकडाउन घोषणा गर्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ ।

 

प्रकाशित मिति: सोमवार, बैशाख १५, २०७७

 

 

ताजा अपडेट