मुख्य समाचार समाचार

कलैयाका मेयरसहित १० जना पक्राउ, राहतमा कुहिएको दाल वितरण गरेको अभियोग

सुनकोशी न्युज, २०७७ वैशाख ९ गते,

रौतहट । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ ।

कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो । जसमा उनीपछि दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए

कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।

उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरिएको थियो ।

संकटको घडीमा सहयोग गर्नुको साटो नगरप्रमुख जस्ता व्यक्तिले नागरिकको जीवधनसँग खेलवाड गरेको देखिएको भन्दै स्थानीयले आक्रोश पोख्दै आएका थिए ।

मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तयारी गरेको छ ।

मेयर यादव पूर्वसांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवका छोरा समेत हुन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७७