बागमती

२ हजार २ सय परिवारका लागि सहयोग लिएका छौं र यसबाहेक संस्थागत राहत पनि आएका छन् : वडाध्यक्ष भण्डारी

काठमाडौं । राहत वितरण व्यवस्थापन बुझ्न काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आज वडा ३१ को जागृतिनगर पुग्नुभयो । लकडाउनका अवधि महानगरपालिका क्षेत्रभित्र भएका अति बिपन्न, असहाय र दैनिक ज्यालादारी गर्नेले मापदण्डबमोजिम राहत प्राप्त गरे नगरेको, राहत वितरण गर्दा सामाजिक दुरी कायम भए नभएको, खाद्य सामाग्रीको प्याकेट र परिमाण, ढुवानी र वितरणको व्यवस्थापन, अभिलेख राख्ने बिधि, दाताबाट प्राप्त राहतको वितरण व्यवस्थापनजस्ता पक्ष निरीक्षणका क्रममा हेरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । महानगर सबैको घरमा पुगेको अनुभूति हुनुपर्छ । संकटका बेलामा हुनेले नहुनेलाई दिनुपर्छ । कतै कतै हुनेखाने पनि राहत लिन लाइनमा बसेको खवर सुनेको छु । अर्यालले थप्दै भन्नुभयो — महामारी नियन्त्रण गर्ने यस अवस्थामा हामीले स्थानीय प्रशासन, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध बनाएर सामाजिक न्यायमा आधारित काम गर्दैछौं । यसमा सबैबाट सहयोगको अपेक्षा गरेको छु ।

निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्याल, प्रदेश सभा सदस्यहरु गणेश दुलाल र राजेन्द्र गुरुङ्, प्रमुख जिल्ला अधिकारी दाहाल, महानगरका सहसचिव राजेश्वर ज्ञवाली, वडाध्यक्ष नारायण भण्डारी, प्रशासन बिभागका प्रमुख नमराज ढकालसहित वडासदस्यहरुले छुट्टाछुट्टै राहत वितरण गर्नुभएको थियो । वडा ३१ ले आजसम्ममा ३ हजार २०० परिवारलाई राहत वितरण गरिसकेको छ । वडाध्यक्ष नारायण भण्डारी भन्नुहुन्छ — भोलि हामी ६०० परिवारलाई राहत सामाग्री दिन्छौं । भोलिसम्ममा ३ हजार ८०० परिवारले राहत पाइसक्छन् । यत्तिका मान्छेले राहत पाइसके फारम कतिले बुझाएका छन्? प्रश्नको उत्तरमा वडाध्यक्ष भण्डारी भन्नुहुन्छ — सबैतिरबाट आएका फारम एकै ठाउँमा भेला गर्न पाइएको छैन, त्यस्तै होलान् चानचुन ५ हजार जति ।

भोलि वितरण गर्नेसहित राहत प्याकेट हिसाब गर्दा ३,८०० प्याकेटमध्ये १ हजार ६०० प्याकेट महानगरबाट प्राप्त रकमबाट र २ हजार २ सय प्याकेट दाताको सहयोगबाट प्राप्त भएको हो । दाताहरुतर्फ उद्योग बाणिज्य परिसंघबाट १ हजार प्याकेट, उद्योग वाणिज्य संघबाट ५०० प्याकेट, आर्ट अफ लिभिङ्बाट ३०० प्याकेट, राजेन्द्र भण्डारीबाट २०० प्याकेट, मारवाडी सेवा समितिबाट १५० प्याकेट र एकता नेपालबाट ५० प्याकेट खाद्य सामाग्री प्राप्त भएको हो । बडाबाट सबैभन्दा धेरै अव्यवस्थित बस्ती (सुकुम्बासी) मा १ हजार प्याकेट राहत बाँडेको छ । यससँगै ओमकारेश्वर मार्ग, वडा कार्यालय, इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुल, आलोकनगर, देउराली क्लव, आशा मन्दिर जागृतिनगर, शान्तिनगर, चौतारीक्लब, ओमशान्ति चोक जस्ता ठाउँबाट राहत वितरण गरेको छ ।

वडामा रहेको निसहाय सेवा केन्द्रमा संघीय संसद प्रकाशमान सिंहकातर्फबाट १२० किलो चामल, २ प्याकेट नुन, ६ लिटर तेल, ५ के. जि. चना र ५ केजि. दाल उपलब्ध भएको वडा सचिव सुरेश साहु खलले जानकारी दिनुभयो । वडा सचिव साहुका अनुसार संगम चोकमा रहेको नयाँ नेपाल समाज केन्द्रमा आश्रित असहाय बालबालिकाका लागि सृजना सिंहबाट ४ बोरा चामल, १ बोरा दाल, ५० प्याकेट बिस्कुट, २ प्याकेट नुन, १० के जि. चिउरा, १० के जि आलु, ३ कार्टुन चाउचाउ र ४ बोतल स्यानिटाइजर उपलब्ध गराइएको छ । त्यस्तै केन्द्रमा आश्रित बालबालिकाका लागि सुबोधलाल कर्णमार्फत १२५ किलो चामल, ५० किलो चिउरा, २० किलो दाल, १० प्योकट नुन र १० लिटर तेल उपलब्ध गराइएको छ ।  यी सामाग्री वितरण गर्न महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्य गणेश दुलाल, राजनीतिक प्रतिनिधि सुरजचन्द्र लामिछानेलगायतको सहभागिता थियो । चन्द्रमणी भट्टराई

प्रकाशित मिति: मङ्लबार, चैत्र २५, २०७६