बागमती हेडलाईन न्युज

फोहारको सिधा जोखिममा भएका महानगरका सफाइ कर्मचारीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले फोहोरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहोर व्यवस्थापनका काम गर्ने सफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराउने बताउनुभएको छ । पहिले हामी औषधि छर्ने काममा खटिने, ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहोर संकलनमा खटिने ५० जनालाई दिन्छौं । यसका लागि वातावरण व्यवस्थापन बिभागबाट काम शुरु भइसकेको छ । मेयर शाक्यले थप्दै भन्नुभयो — लकडाउनका समयमा महामारीबाट बच्न सबैै मानिस घरमै बसेका बेला पनि सफाइकर्मीहरु काममै हुनुहुन्छ । उहाँहरुलाई जोगाउनु मेरो जिम्मेवारी हो ।
कोभिडको महामारीका समयमा अत्यावश्यक सेवामा काम गर्नेहरुका लागि सरकारले २५ लाख रुपैयाँको बीमा गरिसकेको छ । मेयर शाक्यले थप्दै भन्नुभयो — सामान्य अवस्थामा पनि र अनौपचारिक क्षेत्रमा काम गर्नेले पनि सुरक्षात्मक उपकरणको प्रयोग गर्नुपर्छ ।

काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैर—सरकारी संस्था गुथिले ५०० सय सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक सामाग्री उपलब्ध गराउने भएको छ । वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा उपलब्ध हुने सामाग्रीको नमूना गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले महानगरका प्रमुख शाक्यलाई हिजो हस्तान्तरण गर्नुभयो । यो सुरक्षात्मक उपकरणमा सुरक्षा लुगा १ सेट, चस्मा एउटा, पञ्जा एक जोर, बुट एक जोर, मास्क ३ थान, १०० एमएलको स्यानिटाइजर, एउटा साबुन, एउटा रुमाल, एउटा बाल्टिन र एउटा मग हुनेछ ।

सामाग्री हस्तान्तरणपछि प्रतिक्रिया दिँदै गैर—सरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले — भाइरसको महामारीका समयमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएर सरसफाईकर्मीहरुको पेशालाई सुरक्षित बनाउन प्रयास गरिएको बताउनुभयो । यसले सफाइकर्मीको पेशागत व्यवहार परिवर्तनमा ठूलो सघाउ पु¥याउनेछ । उहाँले परिणामको अपेक्षा गर्नुभयो । हस्तान्तरण अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । त्यस्तै फोहोरमैला व्यवस्थापन संघ र नेप्सेम्याकका पदाधिकारी पनि सहभागी हुनुहुन्थ्यो । गुथिले हिजो नै कीर्तिपुर नगरलाई पनि सामाग्री हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरमा करीब ९५० कर्मचारी सरसफाइमा काम गर्छन् । फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्याङ्ककाअनुसार काठमाडौ उपत्यकामा ६५ वटा सरसफाई कम्पनी छन् । यी कम्पनीअन्तर्गत करीब २ हजार ५०० सरसफाईकर्मी काम गर्छन् । देशभरिको करीब ६ हजार व्यक्ति सरसफाइमा काम गर्ने अनुमान छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७६