मुख्य समाचार

भक्तपुरस्थित चाँगुनारायण मन्दिरको मूर्ति चोरी

भक्तपुरस्थित चाँगुनाराण मन्दिरको मूर्ति चोरी भएको छ । मन्दिरपरिसरको उत्तरपट्टिकाे भित्तामा रहेको अष्टबाहुलनाराणको मूर्ति चोरी भएको हो ।

मूर्ति हराएकोबारे पुरातत्त्व विभागमा खोजीको लागि भन्दै निवेदनसमेत परेको छ ।

कानुनका विद्यार्थी सञ्जय अधिकारीले विभागमा निवेदन दिएका हुन् । सोमबार विभागमा परेको निवेदनमा ‘मन्दिरको अष्टबाहुलनाराणको मूर्ति यथास्थितिमा नरहेको देखिन आएको हुँदा प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम यस मूर्ति खोजीका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ,’ भनिएको छ ।

मूर्ति केही दिनअघि चोरी भएको खुलेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले पुष्टि गरे । ‘मूर्ति केही दिनअघि नै चोरी भएको हो । हामी चोरी गर्नेहरूबारे अनुसन्धान गरिरहेका छौं,’ एसएसपी ज्ञवालीले भने ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६