स्थानीय

आधारभूत तहका ५२ जना शिक्षकको पदस्थापन

काठमाडौं । आइतबार महानगरका बिभिन्न बिद्यालयमा ५२ जना आधारभूत तहका शिक्षकहरुको पदस्थापन भएको छ । शिक्षा तथा मानव श्रोत बिकास केन्द्र, शिक्षा बिकास तथा समन्वय इकाइबाट शिफारिस भइ आएका प्राथमिक शिक्षक तृतीय श्रेणी श्रेणीमा नियुक्त शिक्षकहरुलाई महानगरको शिक्षा समितिको आजकै निर्णयबमोजिम पदस्थापन गरिएको हो । यसरी पदस्थापन हुनुहुनेमा ३९ जना महिला र १३ जना पुरुष हुनुहुन्छ । उहाँहरुलाई आजै महानगरका प्रमुखको उपस्थितिमा शिक्षा अधिकारी निर्मला के. सी. ले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

त्यस अवसरमा बोल्दै प्रमुख बिद्यासुन्दर शाक्यले — प्रतिस्पर्धाबाट उत्कृष्ट भएका शिक्षकहरुले आफ्नो योग्यताबाट अब्बल बिद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो । तपाईँहरुमध्ये अधिकांशले स्नातकोत्तर गर्नुभएको छ । तपाईहरु शैक्षिक रुपमा सबल हुनुहुन्छ । अब तपाईले पढाएका बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनुपर्छ । मानव बिकासको सूचकमा शिक्षा नै पहिलो हो । यो सूचकमा काम गर्ने जिम्मेवारी पाउनुभएको छ, इमान्दार भएर निर्वाह गर्नुहोला । मेयर शाक्यले थप्नुभयो ।

महानगरले सबै बिद्यालयको रङ्रोगन गर्दैछ । बिद्यालय परिसरमा फलफुलका बिरुवा रोप्दैछ । हिलो र धुलोमुक्त खेल मैदान बनाउन काम हुँदैछ । हामी पूर्वाधारको काम गर्छौं । तपाईँहरु शैक्षिक गुणस्तर सुधार गर्नमा लाग्नोस्, मेयर शाक्यले नवनियुक्त शिक्षकहरुलाई निर्देशन दिनुभयो ।

महानगरमा बिषयगत ३ वटा ३० वटा आधारभूत र ६१ वटा माध्यमिक बिद्यालय छन् । यीमध्ये माध्यमिक तहमा ४२०, निम्न माध्यमिक तहमा ४८६ र आधारभूत तहमा ८८८ शिक्षक दरबन्दी रहेको छ । यीमध्ये गएको साउन २९ गते माध्यमिक तहका २० जना शिक्षकको र कार्तिक २४ गते १ जना पुरुषसहित २६ जना निम्न माध्यमिक तहका शिक्षकको र आज ५२ जना आधारभूत तहका शिक्षकको पदस्थापन गरिएको हो । यो पदस्थापन गएको १ बर्ष अघिको मागका आधारमा भएको हो । त्यसपछि पनि अवकार प्राप्त गर्ने, राजीनामा दिने शिक्षक भएकाले आधारभूत तहमा नै करीब २२ जना शिक्षक दरबन्दी खाली छ ।

आजको शिक्षा समितिको बैठकले निम्न माध्यमिक तहका शिक्षकको पदस्थापनलाई अनुमोदन गरेको छ । त्यस्तै पशुपति मित्र माध्यमिक बिद्यालय चावहिलमा काजमा रहनुभएकी प्राथमिक तह द्वितीय श्रेणीकी शिक्षिका प्रमिला पाण्डे, परोपकार आदर्श माध्यमिक बिद्यालय भीमसेनस्थानमा काजमा काम गरिरहनुभएकी प्राथमिक तह तृतीय श्रेणीकी शीलु ढुङ्गाना र जनकल्याण माध्यमिक बिद्यालय बौद्धमा काजमा काम गरिरहनुभएकी प्राथमिक तह द्वितीय श्रेणीकी शर्मिला राजभण्डारीलाई काजमै रहेको बिद्यालयमा पदस्थापना गर्ने गरिएको छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: आइतवार, मंसिर १, २०७६