विदेश

हङकङ प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम प्रहार, हिंसा समाधान नभएको अधिकारीहरूको भनाइ

हङकङमा आइतवार सरकारी भवन तथा दंगानियन्त्रण प्रहरीमाथि पेट्रोल बम प्रहार गरिएपछि अधिकारीहरूले हिंसा कुनै पनि समस्याको समाधान नभएको बताएका छन् । अनुमति नदिइएको जुलूसका क्रममा झडप हुँदा पेट्रोल बम प्रहार गरिएको थियो ।

सरकारविरोधी प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रूग्यास र पानीका फोहोरा प्रहार गरेको थियो ।

मानिसहरूले फलामे ह्याम्मर र अन्य हतियारले एकअर्कालाई आक्रमण गरेका थिए जसले गर्दा धेरैजना घाइते भएका थिए ।

हङकङमा १०० दिनदेखि सडक प्रदर्शन भइरहेको छ । फौजदारी अपराधका आरोपितलाई पुर्पक्षका लागि चीनसमक्ष सुपूर्दगी गर्ने विवादास्पद विधेयकको विरोध गर्दै प्रदर्शन शुरू भएको थियो ।

हङकङकी नेता क्यारी लामले सुपूर्दगी विधेयक फिर्ता लिएको भए पनि प्रदर्शनकारीहरूले लोकतान्त्रिक सुधारको माग गरेका छन् अनि विरोधकर्ताहरूमाथि भएको प्रहरी ज्यादतीको स्वतन्त्र छानबिनको पनि माग गरेका छन् ।

संकट गहिरिँदै जाँदा प्रदर्शन साना बन्दै गएका छन् तर प्रदर्शनकारीहरू थप हिंस्रक बनेका छन् ।

आइतवार अबेर एक वक्तव्य जारी गरेर सरकारले हिंसाको निन्दा गर्दै यसबाट समुदायलाई नै हानि पुग्ने बतायो । अधिकारीहरूले समस्या समाधानका लागि आफूहरू इमान्दार रहेको बताए ।

आइतवार कालो मुकुण्डो लगाएका विरोधकर्ताहरूले प्रहरीको निषेधाज्ञा उल्लंघन गर्दै शान्तिपूर्ण तवरले कजवे बे बजार क्षेत्रबाट केन्द्रीय व्यापार क्षेत्रसम्म दुई किलोमिटर जुलूस निकाले ।

प्रहरीले जुलूसको अनुमति नदिएको भए पनि उनीहरूले टेरेनन् ।

केही विरोधकर्ताहरूले चिनियाँ झण्डा जलाए अनि सबवे स्टेसनमा तोडफोड गरे ।

तीमध्ये सयौंले सरकारी कार्यालयको भवनलाई तारो बनाउँदै इँटा प्रहार गरे र प्रहरी ब्यारियरमा पेट्रोल बम प्रहार गरे ।

 

प्रकाशित मिति: सोमवार, भदौ ३०, २०७६