सुनकोसी न्यूज
चैत १५ गते आइतबार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिविरुद्ध देशभर व्यापक प्रदर्शन भएको छ। ३,००० भन्दा बढी स्थानमा लाखौं नागरिक सडकमा उत्रिएका छन्।
“नो किङ्स (No Kings)” नाम दिइएको आन्दोलनअन्तर्गत राजधानी वासिङ्टन डीसी, न्युयोर्क, लस एन्जलस, शिकागोलगायत सहरमा ठूला र्याली आयोजना भए। प्रदर्शनकारीहरूले कडा अध्यागमन नीति, सम्भावित युद्ध र बढ्दो महँगीको विरोध गरेका छन्।
मिनेसोटाको सेन्ट पलमा सबैभन्दा ठूलो प्रदर्शन भएको छ। कार्यक्रममा गभर्नर टिम वाल्ज, सिनेटर बर्नी स्यान्डर्स र सांसद इल्हान ओमारले ट्रम्प प्रशासनको आलोचना गरेका छन्।
लस एन्जलस र अन्य सहरमा सांकेतिक विरोधका कार्यक्रमसमेत देखिएका छन् भने केही स्थानमा सामान्य झडप र पक्राउसमेत भएको जनाइएको छ। यो आन्दोलन रिपब्लिकन गढ मानिने राज्यहरू र साना सहरहरूमा पनि फैलिएको छ।
युरोपका पेरिस, लन्डन लगायत सहरमा पनि अमेरिकी नागरिकहरूले ऐक्यबद्धता जनाएका छन्।
ह्वाइट हाउसले भने प्रदर्शनलाई अस्वीकार गर्दै महत्त्व नदिएको प्रतिक्रिया दिएको छ। विश्लेषकहरूका अनुसार, बढ्दो जनअसन्तुष्टिले आगामी अमेरिकी राजनीतिमा प्रभाव पार्न सक्छ।

















Add Comment