रोचक

चुनाव चिन्ह गाई भएको हिन्दुवादी पार्टीकै मेयरमाथि उठ्यो प्रश्न

सुनकोशी न्युज, २०७६ भाद्र १४ २१ः५५
काठमाडौं– सुर्खेतमा भएको गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको लापरबाही देखिएको बताइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा वन क्षेत्रमा गाईगोरु मरेको अवस्थामा भेटिएको बताइएको छ ।
उपमहानगरपालिकाले छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्ने भन्दै दैलेख पठाउँदा बीचबाटोमै ३० गाईगोरु शुक्रबार मृत फेला परेका थिए । २९१ गाई र गोरुमध्ये ३० गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
कतिपय गाई र गोरु भीरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । नेपालगञ्ज बजारमा छाडा रुपमा छाडिएका गाई–गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको बुझिएको छ ।
सो विषयमा नेपालगञ्ज उपमहानगरपालिका सूचना अधिकारी शरदकुमार पौडेलले गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको दाबी गरेका छन् ।
‘गाई–गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई–गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियौँ,’ पौडेलले भने । उनका अनुसार आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको थियोे ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६