अन्तर्वार्ता/विचार जीवनशैली पर्यटन फोटो/भिडियाे मनोरञ्जन मुख्य समाचार रोचक शिक्षा/स्वास्थ्य साहित्य

सुनिता अधिकारी कवितामा भन्छिन्- म कस्ती मान्छे ?

म कस्तो मान्छे ?

तिमी आऊ भन्दै थियौ
बन्देज लगाएको पनि छैन भन्दै थियौं,
तर, हिँडिरहेको बाटो छेकी तिम्रो आखेटजस्तै पछ्याइरहे, पछ्याइरहे अबिरल
उल्टो मैले पो तिमीलाई निस्तेज गरे
कस्तो मान्छे म ?

तिमीले मलाई आऊ भन्दा
तगारो लाग्छुझैँ सोचेर
आँगन फुटाउदैँ गयौँ
र,अलपत्रै पार्यौ मलाई
तिमीले के सोच्यौँ सोच्यौँ मलाई।

तिमीले छेक्न खोज्दा पनि
पर्वतै उचालेझैँ गरी,
टक्कर दिन नै पुगेँ
तिम्रो सफलतालाई माया गर्दै
तिमीलाई अँगालोमा बेरेर
असँख्य चुम्बन गर्न खोजेँ
तर, उल्टै तिमीले नै
मेराे मनाेकामनालाई पूरा गरी
खुसीले गदगद भई
सयपत्री फूलको माला बर्साई दियौं
मेरा हृदयका पत्रपत्रहरूलाई
जीवनधूनले सिंगारी दियौँ
अभिभूत भए म त
इन्द्रधनुषीय आभाले
डुबिरहे म त
सागरका तिम्रा स्निन्ध छालहरूमा
र,
हराई रहे आफैबाट चुर्लुम्मै
तिम्रा उकाली ओराली अनि खोँचहरूमा।

तिमीले मलाई लगाएको
माला झिकेर फ्याक्न पुगे,
कस्ताे मान्छे म?

लखेटी रहें सगरमाथाका काखहरूमा तिमीलाई
विश्रामका तिम्रा पलहरूमा
हुकुम मैले चलाइरहे
तिमीले बोल्नु पहिले मेरा आदेशहरू
चल्न थाले
हठयोगको मेरो भाषामा
विवस र लाटो भयौ तिमी
तर पनि तिमी उम्कि गयौँ
न तिमीलाई मैले समाल्न सके
न मैंले तिमीलाई बुझ्न सके
कस्तो मान्छे म!

एक न एकदिन
तिमी प्रतिको मेरो भ्रमलाई
सधैंको लागि चिर्नेछु
र ,
मायाको पहिलो अभिलाषा छताछुल्ल पोखिदिनेछुँ मैले
तिम्रो मनको गरागरामा
अनि , तिमी मेरो र म तिम्रो
आँखाको नानीमा लुक्ने छौँ।।

बालुवाटार, काठमाडौं

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१