सूनकोसी न्यूज
जेष्ठ ८ गते, शुक्रबार
काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनहरूको नयाँ दर्ता प्रक्रिया रोक्ने निर्णय गरेको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकमा बढ्दो सवारी चापलाई मुख्य कारण देखाउँदै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीको नयाँ दर्ता रोक्ने जनाएको हो।
विभागका निर्देशक मणिराम भुसालद्वारा जेठ ७ गते जारी परिपत्र सातै प्रदेशका भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय तथा देशभरका स्थानीय तहमा पठाइएको छ।विभागले जारी गरेको निर्देशनमा पेट्रोलियम इन्धनबाट चल्ने सवारी मात्र नभई विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनको नयाँ दर्ता समेत रोक्न स्पष्ट उल्लेख गरिएको छ।
परिपत्रअनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, बढ्दो वायु प्रदूषण, अत्यधिक ट्राफिक जाम, सडकमा सवारी चापका कारण आवागमनमा समस्या उत्पन्न हुनु तथा इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ बढ्नु जस्ता कारणले यस्तो निर्णय लिनुपरेको विभागले जनाएको छ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) अनुसार प्राप्त अधिकार प्रयोग गर्दै सार्वजनिक हितका लागि नयाँ दर्ता रोकिएको स्पष्ट पारेको छ।उक्त कानुनी व्यवस्थाअनुसार वातावरण प्रदूषण, सडकको अवस्था, सवारी चाप वा आवागमनमा गम्भीर असर पर्ने अवस्था देखिएमा विभागले सवारी दर्ता रोक्न सक्ने प्रावधान रहेको छ।
विभागले नेपाल सरकारको नीतिअनुसार सार्वजनिक यातायातको वैज्ञानिक र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न अस्थायी रूपमा नयाँ दर्ता प्रक्रिया बन्द गरिएको जनाएको छ।














Add Comment